मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि बकैया खेलकुद विकास समितिले जितेको छ । वडा नम्बर–५, स्थित कर्मचुलीमा भएको फाइनल खेलमा आयोजक जनएकता क्लबलाई १–० गोलले हराउँदै बकैयाले उपाधि जितेको हो । बकैयाको जितमा विपिन श्रेष्ठले खेलको ६५ औं मिनेटमा निर्णायक गोल गरे । उनले फ्रिकिकमार्फत् उत्कृष्ट गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच श्रेष्ठ घोषित भए ।

जितसँगै बकैयाले १ लाख ११ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजकले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट बकैयाका सुजन गुरुङ घोषित भए । उनले नगद ३ हजार रुपैयाँ प्राप्त गरे । मिडफिल्डर सुबराज गोले, सर्वाधिक गोलकर्ता अविशेक भोलन, गोलरक्षक जनएकताका सुजन बल र डिफेन्डर जनएकताकै सुशन वाईबा घोषित भए । अन्य विधागत उत्कृष्टले २–२ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लबलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको थियो भने शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा युगपरिवर्तन बागमती गाउँपालिकालाई १–० गोलले हराउँदै बकैया फाइनलमा प्रवेश गरेको थियो । क्लबका अध्यक्ष कृष्ण घतानीको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्कीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको समापनमा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, बकैया–५ कि वडाध्यक्ष लक्ष्मी जिम्बा, ६ नम्बरका वडाध्यक्ष फिलमान भोम्जन, बकैया खेलकुद विकास समितिका संयोजक विजय लामाथिङ लगायतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी