चेपाङ समुदायको पहिचान र संस्कृतिसँग जोडिएका सामानहरू संग्रहालयमा अवलोकनका लागि राख्न राक्सिराङ गाउँपालिकाले संग्रहालय भवन निर्माण गरिरहेको छ । चेपाङ बाहुल्य रहेको उक्त पालिकाले चेपाङ समुदाय परापूर्वकालदेखि प्रयोग गर्दै आएको तर लोपोन्मुख अवस्थामा रहेका सामग्रीहरू अवलोकनका लागि राख्न चेपाङ संग्रहालय निर्माण गरिएको हो ।

उनीहरूले विगतमा प्रयोग गरेका तर अहिले लोप हुने अवस्थामा पुगेका सामग्रीहरू संरक्षण गर्ने उद्देश्यले पालिकाले ठूलै लगानीमा संग्रहालय निर्माण गरिरहेको पालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘राक्सिराङ गाउँपालिका–५ चैनपुरमा ३ करोड ६३ लाख रुपैयाँको लागतमा संग्रहालय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’उनले भने । तीनतले उक्त भवनको तल्लो तलामा चेपाङ समुदायले विगतदेखि वर्तमानसम्म प्रयोग गर्दै आइरहेका र उनीहरूको संस्कृति र पहिचान झल्कने सामग्री राखिने व्यवस्था गरिएको छ ।

आगामी चैत महिनासम्ममा संग्रहालयको निर्माण कार्य सम्पन्न हुने पालिकाले जनाएको छ । राक्सिराङ गाउँपालिकाको केन्द्रसमेत रहेको चैनपुरमा विगतमा चेपाङ संग्रहालय संचालनमा थियो । अवलोकन र अध्ययनका लागि विभिन्न स्थानबाट मानिसहरू आउने गर्थे । २०७२ सालमा आएको भूकम्पले संग्रहालय भवनमा क्षति पु¥याएको थियो । उक्त भवनको मर्मत र सम्भार कार्य हेटौंडाका दिलीप वानियाको आर्थिक सहयोगमा रोटरी क्लब अफ मकवानपुरले गरेको हो । भवन जीर्ण हुँदै गएकाले २०७८ साउनदेखि नयाँ भवन निर्माण कार्य सुरु गरेको हो ।

तत्कालीन जिल्ला विकास समितिको सहयोगमा उक्त स्थानमा २०६७ सालदेखि चेपाङ संग्रहालय स्थापना गरिएको थियो । उक्त संग्रहालयमा चेपाङ समुदायले प्रयोग गर्ने एकपाखे ढ्याङ्ग्रो, चमेरो मारेर हाल्ने थुन्से, चमेरो मार्ने गुलेली, खोरिया खन्दा प्रयोग गर्ने कुटोकोदालो, हलो, वन्यजन्तुको सिकार खेल्दा प्रयोग गर्ने हतियार, चिउरीको घिउ राख्ने भाँडोलगायत उनीहरूको जीवनशैली र पहिचानसँग जोडिएका सामग्रीहरू राखिएका थिए ।

‘संग्रहालयको पुरानो भवन भत्काएर नयाँ भवन निर्माण गर्न थालेपछि संग्रहालयमा राखिएका सामग्री कोठामा सुरक्षित साथ राखेका छौं,’ पालिका अध्यक्ष मल्लले भने । ‘हाम्रो अस्तित्व र पहिचानसँग पनि जोडिएकाले संग्रहालय छिट्टै संचालनमा आउने विश्वास लिएका छौं,’नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले भने ।

पालिका प्रेस
थप जानकारी