
मनहरी गाउँपालिकामा नमुना युवा संसद स्थापना र अभ्यास भएको छ । २१ पुसबाट शुरु भएको कार्यक्रम २४ गते सकिएको हो । मनहरी ३ लामिटार स्थित पालिकाको सभाहलमा आयोजित चार दिवसीय कार्यक्रमको चौथो तथा अन्तिम दिन पालिकाका अध्यक्ष रञ्जन कालाखेतीसहित सबै जनप्रतिनिधिहरुका सहभागीहरुले माझ नमुना प्रस्तुत गरिएको थियो ।
युवा संसदहरुले गाउँपालिकाको १५ औं गाउँसभालाई प्रस्तुत गरेका थिए । गाउँपालिका भित्रका बाल क्लबमा आवद्ध १६ बर्ष देखि २४ बर्ष सम्मका युवा युवतीहरुको सहभागीता रहेको कार्यक्रममा निर्धक्कका साथ आफ्ना प्रस्तुती दिएका थिए ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथी सीता पुलामी मगर रेखाले पालिका भित्र रहेका बालबालिकाहरुलाई पालिकाले सदन संचालन गर्न सिक्ने र अभ्यास गर्न अवसर प्रदान गरेको भन्दै तालिममा सहभागी भएकाहरुको प्रस्तुती हेरिसकेपछी तालिम निकै नै प्रभावकारी भएको बताइन् । आगामी दिनहरुमा पालिकाले बालबालिका तथा युवाहरूलाई अझ सशक्त र जुझारु बनाउन पालिकाले कुनै कन्जुस्याइँ नगर्ने बताइन् ।
मन्तब्य ब्यक्त गर्ने क्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीले यस कार्यक्रमले नयाँ पुस्ताको क्षमता अभिवृद्धिका साथ साथै जनप्रतिनिधिलाई समेत पुनर्ताजगी हुने बताए । तालिम भनेको बिधी, पद्धति बुझ्ने र सहि तरिकाले प्रयोगमा ल्याउने एउटा साध्य भएको भन्दै स साना कुरामा पनि ध्यान दिन आवश्यक रहने भन्दै तालिममा सहभागीता जनाउनेहरुको प्रगतिको कामना गरे ।
मनहरी गाउँपालिका भित्र गठित बाल क्लबमा आवद्ध रहेकाहरुको सहभागिता रहेको कार्यक्रममा एउटा वडाबाट ३ जनाको दरले २७ जना सहभागी भएका थिए ।मनहरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र राष्ट्रिय युवा परिषद नेपालको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रमको लागि गाउँपालिकाले दुई लाख रुपैयाँ बिनियोजन गरेको थियो ।
तालिमका सहभागीहरुलाई पालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षहरुबाट सहभागी प्रमाणपत्र प्रदान गरिएको थियो। ३ नम्बर वडा अध्यक्ष तथा शिक्षा एबम सामाजिक बिकास समिती संयोजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । तालिममा प्रशिक्षक अबिनाश कार्कीले सहजीकरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्