
मकवानपुरको कैलाश गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत ९ जनालाई नगदसहित सम्मान गरेको छ । १५ माघमा भएको गाउँपालिकाको १५औं गाउँसभाको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । कम्तिमा दस जोड दुई पास गरी २० वर्ष उमेर पार भएपछि मात्र बिवाह गर्ने चेलीलाई गाउँपालिकाले सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा अम्बिका अर्याल, अनिता रुम्बा, कैलाश ९ कि कल्पनामाया घलान, कैलाश ९ कि सविना रुम्बा, वडा नम्बर ६ कि हिरा मुक्तान, वडा नम्बर ९ कि देवकी वर्ताैला, वडा नम्बर १० कि लक्ष्मी ब्लोन, वडा नम्बर शान्ति तितुङ र वडा नम्बर १० कि अबिगेल प्रजा रहेका छन् । बाल बिवाह न्युनीरकणका लागि बिगतका वर्षदेखि नै पालिकाले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठलगायतले प्रति व्यक्ति २० हजार रुपैयाँ नगदसहित उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
गाउँपालिका अध्यक्ष मुक्तानले विवाह अघि कम्तिमा पनि १० जोड २ पास गर्नुपर्छ र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताए । उनले देशभरका स्थानीय तहहरुमध्ये यो कार्यक्रम पृथक कार्यक्रम भएको बताए । गउँघरमा छोरीलाई वालविवाह गर्ने, पकीईबाट बञ्चित गर्ने चलन अझै रहेको बताउँदै उनले यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।
उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले कार्यक्रमलाई बृहत रुपमा विस्तार गर्दै लैजाने बताए । उनले २० बर्ष पूरा भएपछि मात्र विवाह गर्न चेतना फैलियोस र परिपक्व भएपछि मात्र विवाह गर्नुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए । गाउँपालिकाले हरेक वर्ष चेली प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्