शैक्षिक गुणस्तर अभिवृद्धिका लागि एकले अर्कोलाई दोषारोपण गरेर कोही पनि पन्छिन नमिल्ने थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्टले बताएका छन् । ‘कक्षा ६ को गणित विषयमा विद्यार्थी कमजोर भए ५ कक्षाबाट आउँदै कमजोर थियो, कक्षा ५ लाई सोध्यो ४ बाटै कमजोर जस्ता लहरे दोषारोपन गर्नु शैक्षिक उन्नयनको बाधक हो’ उदाहरण दिदै प्रमुख विष्टले भने । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ को स्वच्छन्द भैरव माविको ६६औं वार्षिक उत्सव कार्यक्रममा प्रमुख विष्टले यस्तो बताएका हुन् । संघीय कानूनका कारण शैक्षिक क्षेत्रमा कतिपय अप्ठ्याराहरु रहेको भएपनि स्थानीय सरकारको क्षेत्राधिकारका कानूहरु निर्माण गरी केही मात्रामा सहजीकरण गरिरहेको विष्टको भनाइ थियो । शैक्षिक गुणस्तरका लागि जति शिक्षक, विद्यार्थी, अभिभावक जिम्मेवार छन् त्यसैगरी स्थानीय सरकार पनि हातेमालो गर्दै अघि जिम्मेवारीकासाथ अघि बढिरहेको विष्टले बताए ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा आजिवन सल्लाहकार जयराम लामिछानेले आफू अध्ययन गरेको विद्यालयको स्तर जहिल्यै माथि उठेको हेर्ने चाहाना भैरहने बताए । विद्यालयलाई सहयोग गर्दै आइरहेको बताउँदै गुणस्तरीय शिक्षा र शैक्षिक विकासका कार्यमा गर्नुपर्ने सहयोगमा सँधै सकारात्मक हुने बताए । थाहा नगरपालिकाकै विकास साँझेदारको रुपमा रहेको च्वाइ नेपालका कन्ट्रीडाइरेक्टर प्रतीक शर्माले विद्यालयका लागि केही सहयोग गर्ने अवसर प्राप्त भएकोमा आभार व्यक्त गरे । सरसफाइको प्रसंग कोट्याउँदै साना साना कुरा सुधार गरेर अघि बढे विद्यार्थीको दैनिक आनीबानीमा परिवर्तन हुने विश्वास व्यक्त गरे । विद्यालय र पालिकाले चाहेमा आफ्नो संस्था सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । च्वाइस नेपालले थाहा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, आयआर्जन लगायतका विविध क्षेत्रमा विगत ९ वर्षदेखि कार्य गर्दै आएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु दहालले विद्यालयको वार्षिक प्रतिवेदन तथा आयव्यय प्रस्तुत गरेका थिए । विद्यालयको वार्षिकोत्सव, अभिभावक भेला तथा शहीद दिवस कार्यक्रमको अवसरमा विविध सांस्कृतिक कार्यक्रमका समेत भएको थियो । सो अवसरमा च्वाइस नेपालको तर्फबाट ५ जना विद्यार्थीलाई र शिक्षा शाखा थाहानगर तथा विद्यालयको अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको विद्यालयका शिक्षक जंगबहादुर लामाले जानकारी दिए ।
कार्यक्रममा विद्यालयलाइ निरन्तर सहयोग गर्ने च्वाइस नेपालका निर्देशक प्रतीक शर्मा, सल्लाहकार जयराम लामिछाने, हरीहर लामिछाने, डाक्टर सुमित्रा मानन्धर, अशोक सिंह ठकुरी, लक्ष्मण रेग्मी, हरीशरण नेपाल, दल बहादुर गुरुङ, सुरेश लामिछाने, संजय बलामी र रोशन बलामीलार्इ सम्मान गरिएको थियो।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा वडा अध्यक्ष राजकुमार बलामीको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहको अवसरमा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल, मदन भण्डारी विश्व विद्यालयका पब्लिक कोअर्डिनेटर शम्भु अधिकारी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष असोक सिंह ठकुरीलगायतले शुभकामना दिएका थिए। समारोहमा कार्यपालिका सदस्य अन्जु श्रेष्ठ, वडाका जनप्रतिनिधिहरु, पुर्व विद्यार्थीहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु,शिक्षक अभिभावक संघका पदाधिकारी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्