तनहुँको भानु नगरपालिकाले स्वैच्छिक अवकाश हुने शिक्षकलाई ५० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्राथमिक तहका शिक्षकलाई प्रोत्साहन सुविधा दिन थालेको हो ।

राजीनामा स्वीकृत भएपछि अवकाश हुने शिक्षकलाई ५० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिइने नगरपालिकाले जनाएको छ । नगरपालिकामा प्राथमिक तहमा १०० शिक्षक दरबन्दी बढी रहेको र शिक्षक दरबन्दी बढी हुँदा सरकारलाई आर्थिक भार परेकाले प्रोत्साहन भत्ता दिएर सम्मानजनक बिदाइ गरिएको नगर शिक्षा अधिकारी धु्रवराज पौडेलले बताए । सम्मानजनक बिदाइ कार्यक्रमअन्तर्गत ऐच्छिक अवकाश लिनेलाई नगरपालिकाको आन्तरिक स्रोतबाट ५० हजार नगद प्रोत्साहन रकम १३ जना शिक्षकलाई ६ लाख ५० हजार रुपैयाँ प्रदान गरिसकिएको पौडेलले जानकारी दिए । एक शिक्षक बराबर सरकारलाई वार्षिक चार लाख रुपैयाँभन्दा बढी आर्थिक भार पर्ने गरेको छ ।

अवधि पुगेका शिक्षकलाई अवकाशमा जान प्रोत्साहन गर्ने कार्यलाई प्राथमिकता दिइएको पौडेलले बताए । विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी बढी हुँदा शिक्षक व्यवस्थापन गर्न ‘सम्मानजनक शिक्षक बिदाइ कार्यक्रम छनोट गरी बजेट विनियोजन गरिएको उनको भनाइ छ । नगर शिक्षा अधिकारी पौडेलका अनुसार प्राथमिक तहमा १७९ दरबन्दी रहेकामा १०० बढी भए पनि निम्नमाध्यमिक तथा माध्यमिक तहमा भने शिक्षक संख्या कम छ । निम्नमाध्यमिक विद्यालयमा ११५ जना शिक्षक चाहिनेमा ८९ मात्रै भएकाले २६ दरबन्दी कम छ । माध्यमिक तहमा १११ चाहिनेमा ९० जना मात्रै भएकाले २१ शिक्षक कम रहेको उनले बताए ।

पालिका प्रेस
थप जानकारी