
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनाव सम्झेर बर्तमान अबसरलाई खेर फाल्न नहुने बताएका छन् । अरु काम छाडेर चुनावको मात्र चर्चा गर्नु उपयुक्त नभएको उनको भनाइ थियो ।
मकवानपुरको मनहरी गाउँपालिकामा २२ फागुनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बर्तमानमा नेपाली काँग्रेसले प्राप्त गरेको उपलब्धिको अधिकतम उपयोग गरेर जनहितकारी काम गर्नुपर्नेमा जोड दिए । उनले भने–‘धेरैले २०८४ सालको चर्चा गर्छन्, हामीले गर्नेगरेका छौं । तर अहिले क्रियाशील जनप्रतिनिधिहरुले २०८४ किन पर्खनुपर्ने, अहिल्यै जनतासामु देखिने काम गर्नु पर्दैन ?’
उनले २०७९ सालको चुनावदेखि २०८४ साल र २०८४ देखि २०८९ सालभन्दै चुनावको मात्र चिन्ता गरिरहने हो भने देशको बारेमा कहिल्यै चिन्ता लिने भन्दै प्रश्न गरे । । अन्य राजनीतिक पार्टी र विपक्षीलाई गाली नगरी पनि राजनीति गर्न सकिने स्पष्ट पार्दै राजनीतिक शब्दावलीमा गाली भन्ने शब्द नै प्रयोग गर्न नहुने उनको भनाइ छ ।
अहिले देखिएको अराजक शक्ति र समूहले समस्या उचाल्न मात्र जान्ने तर समाधानमा ध्यान दिन नसक्ने भन्दै उनले समग्र देशको समस्या समाधानका लागि इतिहासदेखि नै काँग्रेसले भूमिका निर्बाह गरिरहेको बताए । उनले सरकारको स्थायित्वका लागि नेकपा (एमाले) सँग सहकार्य गरिएको स्पष्ट पार्दै जनताका हितका लागि प्रस्तुत भएको अध्यादेश संसदबाट पारित गरिएको र भूमि व्यवस्थासम्बन्धि अध्यादेश खारेज नभएको स्पष्ट पारे ।
‘भूमिसम्बन्धी अध्यादेश मुल्तबीमा राखिएको मात्र हो, जनताले जग्गा पाउने बिषय कुनै पनि हालतमा मुल्तबीमा राखिरहनु हुँदैन भन्नेमा हामी स्पष्ट छौं’, उनले भने । केही समयभित्र उक्त अध्यादेशले पनि सही ढंगले निकास पाउने र जनताले जग्गाको स्वामित्व प्राप्त गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले स्थानीय तहका जनप्रतिनिधि र पार्टी नेतृत्वबिच निरन्तर छलफल र अन्तरक्रिया भएर अघि बढ्नुपर्नेमा जोड दिए । काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैलाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तहका नेताहरुले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्