मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ घट्टेचौरमा निर्माण भएको जनकल्यण माध्यमिक विद्यालयको भवन उद्घाटनसहित हस्तान्तरण गरिएको छ । निर्माण शुरु भएको ११ वर्षपछि ६ चैत्रमा नेपाल–भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको भवन हस्तान्तरण गरिएको हो । भारतीय राजदूतावास काठमाडौँका नियोगका प्रथम सचिब वरिष्ठ नन्दनले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान मार्फत विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरित २८ कोठे विद्यालय भवनको भारतीय राजदूतावास काठमाडौँका नियोग उप–प्रमुख नन्दन र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख घलानले ६ चैत्रमै संयुक्त रुपमा उद्घाटन गरे । नेपाल–भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको ३ करोड ७७ आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो ।

नव निर्मित विद्यालय भवनमा आवश्यक फर्निचर समेत व्यवस्था गरिएको छ । ११ वर्ष अघि वि.संं २०६९ सालमा भारत सरकार र नेपाल सरकारबिच भएको एक सम्झौता अनुरूप ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’को रूपमा विद्यालय निर्माण गरिएको हो । जिल्ला समन्वय समिति, मकवानपुरले परियोजनाको कार्यान्वयन गरेको हो ।
कार्यक्रममा भारतीय दूतावास काठमाडौका प्रथम सचिब बशिष्ठ नन्दनले यो परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै दुई देशबिचको यो साझेदारीले पछिल्ला वर्षहरूमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए । उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरूप र दुवै देशका जनताको हितका निमित्त दुई देशबिचको विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रमका विशिष्ट अतिथी तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले धेरै बर्षको निरन्तर प्रयासबाट विद्यालयको भवनले मुर्त रुप लिएको बताउदै भारतीय दुतावासले थाहा नगरपालिकाको शिक्षा क्षेत्रमा गरेको लगानीलाई नगरपालिकाले उच्च सम्मान गर्ने बताए । विद्यालय भवन निर्माण गर्नकोलागि विभिन्न समयमा ठेक्का सम्झौता रद्द गर्दै पुन ठेक्का लगाउदै ११ वर्षमा भवन निर्माणले पुर्णता पाएको उल्लेख गर्दै जिल्ला समन्वय समिती मकवानपुरका अधिकारी शान्ती बिकले काम ढिला हुनुको कारण बारे जानकारी गराएकी थिइन् ।

जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलानको अध्यक्षतामा भएको कार्यक्रमका अतिथीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिब कुमार स्याङ्तानले स्वागत गरेका थिए । कार्यक्रममा नेपाली काँग्र्रेस नगर सभापति प्रमोद कृष्ण जोशीले शुभकामना दिए । कार्यक्रममा थाहानगर शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्ल, जनकल्याण एल्मुनाइएशोसियसनका अध्यक्ष निरन्जन अधिकारी, पालुङ क्याम्पसका प्रमुख राजन मिश्र ,प्याव्सन थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान, पालुङ बहुउद्देश्यीयका अध्यक्ष कृष्ण बहादुर बिष्ट, जिल्ला समन्वय समितिका सदस्य तथा कर्मचारहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु शिक्षक विद्यार्थी लगाएत भारतीय दूतावासका कर्मचारीहरुको उपस्थिति थियो ।

पालिका प्रेस
थप जानकारी