मकवानपुर थाहा नगरपालिकाको सबै १२ वटै वडाका किसानको माटोको नमुना परीक्षण गरिएको छ । परीक्षणका क्रममा खेतबारीको माटोमा प्राङ्गारिक पदार्थ र नाइट्रोजनको मात्रा ज्यादै कमी रहेको पाइएको छ । साथै माटोको पि.एच. ४ देखि ८.४ सम्म रहेको पाइएको छ । खेतीका लागि माटोमा पि.एच.को मात्रा ६.५ देखि ७.५ सम्म हुनु उपयुक्त मानिन्छ ।

त्यसोतः थाहानगरको खेती गरिदै आएको माटोमा फसफोरस र पोटासको मात्रा भने बढि रहेको प्रयोगशाला रिपोर्टले देखाएको छ । बागमती प्रदेश माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाको प्राविधिक सहयोगमा थाहा नगरपालिकाले गरेको परीक्षणबाट यस्तो नतिजा आएको थाहा नगरपालिकाका कृषि अधिकृत प्रदिप गुरुङले जानकारी दिए । किसानले खेतीपाती गर्दै आएका खेतबारीको माटोको अवस्था पत्ता लगाउन सबै वडाबाट संकलित ३ सय ३७ नमुनाको ६ र ७ चैत्रमा परीक्षण भएको थाहा नगरपालिका कृषि विकास शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । वडाहरुमा रहेका कृषि प्राविधिकहरुले संकलन गरेको नमुना माटोको परीक्षण भएको शाखा प्रमुख तिवारीको भनाइ छ ।

 

परीक्षणका लागि वडा नम्बर १ को १४, २ नम्बर वडाको ७६, ३ नम्बर वडाको २८, ४ नम्बर वडाको १८, ५ नम्बर वडाको २५, ६ नम्बर वडाको २५ किसानको नमुना माटो परीक्षण गरिएको थियो । साथै, वडा नम्बर ७ को २७, वडा नम्बर ८ को २४, वडा नम्बर ९ को २५, वडा नम्बर १० को २५, वडा नम्बर ११ को ३८ र वडा नम्बर १२ को १२ किसानको खेतबारीको माटोको प्रयोगशाला परीक्षण गरिएको अधिकृत गुरुङले बताए ।

माटो परीक्षणका लागि बागमती प्रदेश माटो तथा मल परीक्षण प्रयोगशालाका प्रमुख वरिष्ठ माटो विज्ञ डाक्टर जनार्दन खड्का, अधिकृत भरत गुरुङ, प्राविधिक विनिता हमाल, मौसम माखिमलगायतका टोली खटिएका थिए ।

नमुना माटो परीक्षण पश्चात् प्रयोगशाला रिपोर्टको विषयमा माटो तथा मल परीक्षण प्रयोगशालाका प्रमुख डाक्टर जनार्दन खड्कासहितको टोलीले थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाीलाई ‘ब्रिफिङ’ गरेका थिए । डाक्टर खड्काले थाहानगरको खेतीपाती गर्दै आएको खेतबारीमा परीक्षण रिपोर्टका आधारमा प्रति रोपनी २० देखि ३ सय किलोसम्म कृषि चुन हाल्न सुझाए । डाक्टर खड्काले स्वदेशी जैविक मल थाहानगरका खेतीबारीका लागि उपयुक्त हुने उल्लेख गरे । उनले थाहानगरको कृषि विकास शाखाबाट बायोटिन कृषि चुन वितरण नगरी कृषि चुन नै वितरण गरी किसानलाई प्रयोग गराउन सुझाव दिएका छन् । उनले कृषि चुन र बायोटिन कृषि चुनको कामै फरक भएको उदाहरण दिदै भने–‘यि दुई चिज दही र मासु जस्तै हुन्, कति फरक छ आफै अन्दाज लगाउनुस् ।’ डाक्टर खड्काले थाहा नगरपालिकाले मिनी खालको माटो प्रयोगशाला व्यवस्थापन गर्न सुझाव दिदै प्राविधिक सहयोग र तालिम निःशुल्क दिने प्रतिवद्धता समेत व्यक्त गरे ।

थाहा नगरपालिकाका कृषि विकास शाखा प्रमुख संजय तिवारीले माटोमा खाद्य तत्वको कमी भएकोले अनुदानमा बायोटिन कृषि चुन वितरण गर्दै आएको बताए । उनले माटो परीक्षण रिपोर्टको आधारमा कृषि चुन पनि वितरण गर्न सकिने आशय व्यक्त गरे । थाहा नगरपालिका कृषि विकास शाखाले चालु आर्थिक वर्षमा बायोटिन चुन प्रतिकिलो १ सय ९७ रुपियाँ मूल्याङ्कनसहित अनुदानमा वितरण गरेको थियो । कृषि चुन करिब ७ रुपैयाँ प्रति किलोमा खरिद गर्न सकिनेछ । शाखाले यसवर्ष पालिकाको ६ लाखसहित किसानको अनुदान साँझेदारीसहित करिब ८ लाख रुपैयाँका बायोटिन चुन खरिद गरेको थियो ।

थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले प्रदेश सरकार अन्तर्गतको प्रयोगशालाले गरेको प्राविधिक सहयोग र सहकार्यको प्रशंसा गरे । उपप्रमुख गोपालीले प्रयोगशालाले उपलब्ध गराउने सहयोगको भरपूर उपायोग हुने गरी थाहा नगरपालिकाले काम गर्ने उल्लेख गरे । उनले कृषि विकास शाखालाई इङ्कित गर्दै भने–‘मिनी माटो परीक्षण प्रयोगशालाको व्यवस्थापन गर्नू बजेटको व्यवस्था हुन्छ ।’ वडा वडामै किसानको माटो परीक्षण हुने व्यवस्था मिलाउन समेत शाखालाई उपप्रमुख गोपालीले ध्यानाकर्षण गराएका छन् । उनले पालिका अन्तर्गतका सबै कृषि प्राविधिकहरुलाई माटो परीक्षणका लागि बागमती प्रदेश माटो तथा मल परीक्षण प्रयोगशाला मार्फत तालिम लिने व्यवस्था मिलाउन शाखा प्रमुख तिवारीलाई निर्देशन समेत दिएका छन् ।

सो अवसरमा दुईदिनसम्म माटो परीक्षणमा खटिएका डाक्टर खड्कासहितको टोलीलाई मायाँको चीनो र खादा लगाएर आगामि दिनहरुमा समेत सहकार्यको अपेक्षासहित उपप्रमुख गोपालीले विदाई गरेका थिए । कार्यक्रममा थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख नबिन खालिङ, सूचना अधिकृत सुरज भुजेल, सहायक कृषि विकास अधिकृत बालकुमारी भट्टराई, कृषि अधिकृत प्रदिप गुरुङ, प्राविधिकहरु राजकुमार श्रेष्ठ, विनिता विष्ट, रोहिणी स्याङतानलगायतको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी