बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंलाई जोड्ने त्रिभुवन राजपथ अन्तर्गत् भीमफेदी गाउँपालिका–१ स्थित बाघझोरा खोलामा अण्डरपास निर्माणको प्रक्रिया अघि बढाइएको छ । परियोजनाको कार्यान्वयन तयारी स्वरूप भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत्का जिम्मेवार अधिकारीहरू तथा प्राविधिक टोलीले निर्माण स्थलको स्थलगत अध्ययन तथा निरीक्षण गरेका छन् ।
वर्षायाममा बाघझोरा क्षेत्रमा हुने सडक अवरोध तथा सवारी जामको समस्या समाधान गर्ने उद्देश्यसहित अण्डरपास निर्माण योजना अघि बढाइएको जनाइएको छ । परियोजनाका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने अब छिट्टै नै टेण्डर प्रक्रिया अगाडि बढाइने तयारी गरिएको सम्बन्धित पक्षले जनाएको छ । मकवानपुर क्षेत्र नम्बर–२ का निवर्तमान सांसद् महेशकुमार बर्तौलाले अण्डरपास निर्माण सम्पन्न भएपछि सामान्य वर्षात्का समयमासमेत घण्टौँसम्म हुने सवारी जाम र यात्रुले भोग्दै आएको सडक सुरक्षासम्बन्धी चुनौती अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, ‘बाघझोरा क्षेत्रमा वर्षायाममा पटक–पटक सडक अवरुद्ध हुँदा मकवानपुरसहित यस मार्ग प्रयोग गर्ने हजारौँ यात्रुले सास्ती भोग्दै आएका छन् । अण्डर पास निर्माणपछि हेटौँडा–काठमाडौं यात्रा अझ सहज, भरपर्दो र सुरक्षित बन्नेछ ।’ उनका अनुसार यस योजनाले सडक अवरोध न्यूनीकरण गर्नुका साथै जनजीवन, यातायात व्यवस्थापन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
निवर्तमान सांसद् बर्तौलाले योजनालाई अघि बढाउन प्रभावकारी समन्वय र सक्रिय पहल गर्ने मन्त्रालय अन्तर्गतका अधिकारीहरू, प्राविधिक टोली तथा सम्बन्धित निकायप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् । ‘जनताको अपेक्षा अनुसार निर्माण कार्य बिनाअवरोध छिट्टै प्रारम्भ भई समयमै सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु,’ उनले बताएका छन् ।















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्