सीमान्तकृत चेपाङ समुदायको संस्कृति, परम्परा संरक्षण, सम्वद्र्धन एवम् प्रचारप्रसार गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकाले गरेको संग्राहलय निर्माण अन्तिम चरणमा पुगेको छ । चेपाङ समुदायको पहिचानसँग जोडिएको भेषभूषा, चेपाङले प्रयोग गर्ने परम्परागत सामग्री र मौलिक खाद्यवस्तु संर क्षण गर्ने उद्देश्यले ३ करोड ६३ लाख रुपैयाँको लागतमा चेपाङ संग्रहालय निर्माण गरिएको हो ।
राक्सिराङ गाउँपालिकाले वडा नम्बर ५ चैनपुरमा भवन निर्माण गरिएको तीनतले संग्रहालय भवनको निर्माणकार्य सकिएर विद्युतीकरण र रंगरोगन कार्य बाँकी रहेको पालिका अध्यक्ष राजकुमार मल्लले बताएका छन् । संग्रहालयमा चेपाङ समुदायले जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग गर्ने सामग्रीहरु राखिनेछ । एकपाखे ढ्याग्रो, माछा, चमेरो मार्ने जाल, चिउरी पेल्ने काठको कोल, ठेकी, थुन्से, गुलेली, खोरिया खन्दा प्रयोग गरिने कुटोकोदालो, हलो, सिकार खेल्दा प्रयोग गर्ने हातहतियार, चिउरीको घिउ राख्ने भाँडोलगायत चेपाङ जीवनशैली र पहिचानसँग जोडिएका सामग्री अध्ययन अवलोकनका लागि संग्रहित गरिने पालिका अध्यक्ष मल्लले बताए ।
राक्सिराङ गाउँपालिकाको केन्द्र रहेको चैनपुरमा विगतमा चेपाङ संग्रहालय संचालनमा थियो । अवलोकन र अध्ययनका लागि विभिन्न स्थानबाट मानिसहरु आउने गर्थे । २०७२ सालको भूकम्पले संग्रहालय भवनमा क्षति पु¥याएको थियो । भवनको मर्मत र सम्भार कार्य हेटौंडाका दिलीप वानियाँको आर्थिक सहयोगमा रोटरी क्लब अफ मकवानपुरले गरेको थियो । भवन जीर्ण हुँदै गएकाले २०७८ साउनदेखि नयाँ भवन निर्माणकार्य सुरु गरेको हो ।
तत्कालीन जिल्ला विकास समितिको सहयोगमा २०६७ सालदेखि चेपाङ संग्रहालय स्थापना गरिएको थियो । २०७८ सालको जनगणना अनुसार मकवानपुरमा २३ हजार छ सय ४० चेपाङ समुदाय रहेका छन् । राक्सिराङ चेपाङ बाहुल्य रहेको स्थानीय तह हो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्