मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ का ज्येष्ठ नागरिकहरुका लागि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ३९ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । ४ नम्बर वडाको आयोजनामा दुई स्थानमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
वडा नम्बर ४ को दामन शहरी स्वास्थ्य केन्द्रमा १६ वैशाखमा आयोजित शिविरमा ५३ जना र १७ वैशाखमा किराँतेश्वर ज्येष्ठ नागरिक मिलन केन्द्र किटेनीमा भएको स्वास्थ्य शिविरमा ८६ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको ४ नम्बर वडाध्यक्ष नारायण लामाले जानकारी दिए । शिविरमा पुगेका ज्येष्ठ नागरिकहरुको पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टर सृजना गौचन, पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर जोनसन बिक, डाक्टर ज्ञानेन्द्र ठाकुर, स्वास्थ्यकर्मी चिनियाँ लामाले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । स्वास्थ्य परीक्षण गराएकाहरु मध्ये १७ जना ज्येष्ठ नागरिकमा जटिल किसिमको दम रोगीलाई १९ वैशाखमा प्राथमिक स्वास्थ्य केन्द्र दोबाटोमा निःशुल्क निमोनिया बिरुद्धको खोप लगाइने वडा नम्बर ४ का सचिव पाल्साङ लामाले जानकारी दिए । थाहा नगरपालिकाको ४ नम्बर वडाले वार्षिक कार्यक्रम नै तर्जुमा गरी बजेटको व्यवस्थापन सहित शिविर आयोजना गरेको वडाध्यक्ष लामाले बताए ।
स्वास्थ्य शिविरमा दम, ब्लड प्रेसर र सुगर रोगी बढि पहिचान भएको शिविरमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र पालुङका प्रमुख डाक्टर जोनसन बिकले बताए ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्