मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले विद्यालय शिक्षा विधेयक १५ असार भित्रै पारित हुने बताएका छन् । ‘शिक्षक र सरकारबीच भएको सम्झौता अनुसार नै विधेक पास हुन्छ’–बर्तौलाले भने–‘सरकारले गरेको सम्झौता र प्रतिवद्धता पूरा गरेरै छाड्छौं ।’ थाहा नगरपालिका वडा नम्बर १० मा रहेकोे नाटेश्वर माविको २८औं अभिभावक भेलाको उद्घाटन गर्दै ९ जेठमा उनले यस्तो बताएका हुन् । नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका बर्तौलाले नाटेश्वर माध्यमिक विद्यालयको लागि आठ कोठे विद्यालय भवन निर्माणका लागि आवश्यक बजेटको प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि तथा थाहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हिरा बहादुर गमालले विद्यालयको निम्ति वडाकोतर्फबाट आवश्यक सहयोग गर्दै आइरहेको बताउँदै यसलाई निरन्तरता दिने बाचा गरे । नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोद सिद्धार्थ महर्जनले परियती नैतिक शिक्षा सम्बन्धी भनाइ राखेका थिए । अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक श्री धर्मेन्द्र प्रसाद अर्यालले विद्यालयको वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखापाल पुरुषोत्तम गोपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । भेलाले दुवै प्रतिवेदन पास गरेको छ ।

कार्यक्रमकै अवसरमा नाटेश्वर माविका शुभचिन्तक इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का दशनारायण लामाले शैक्षिक सुधारको लागि १५ हजार रुपैयाँ नगद आर्थिक सहयोग गरे । अभिभावक भेलामा विद्यार्थीहरूद्वारा मार्च पास, मनोरञ्जनात्मक खेलकुद, विज्ञान प्रदर्शनी पोषण सम्बन्धी प्रदर्शनी गरिएको थियो । कार्यक्रममा शैक्षिक सुधारको निम्ति अनवरत रूपमा सेवा गर्नुहुने शिक्षक कर्मचारीहरूलाई सम्मान गरिएको थियो। समाजसेवी मिना गोपालीले विद्यार्थीहरूका लागि स्टेसनरी सामग्री तथा ट्रयाक सूट उपलब्ध गराउने प्रतिबद्धता गरिन् । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई मायाँको चिनो वितरण गरी विदाई समेत गरिएको थियो ।

सो अवसरमा विभिन्न विधामा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्रले सम्मान व्यक्त गरिएको थियो। कार्यक्रममा अभिभावकहरूको मनोरञ्जनात्मक म्युजिकल चेयर खेल खेलाइएको थियो । सो प्रतियोगितामा खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरुलाई प्रमाणपत्र तथा मेडलबाट सम्मान गरिएको थियो । विद्यालयका शिक्षक रूपचन्द्र गोपालीले सञ्चालन गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर गोपालीको सभाध्यक्षतामा भएको थियो ।

अभिभावक भेलाकै अवसरमा शिक्षक अभिभावक संघका प्रतिनिधिहरु समेत छनोट गरिएको थियो भने बालबालिका तथा शिक्षकहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, थाहा नगरपालिकाका वडा नम्बर १० का वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, आमा समूह, विभिन्न सहकारीका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी तथा अभिभावक र बालबालिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरुले विद्यालयको विभिन्न गतिविधि र आगामी कार्ययोजना सम्बन्धमा धारणा राखेका थिए ।

पालिका प्रेस
थप जानकारी