मकवानपुरको थाहा नगरपालिकालाई ‘पूर्ण खोप दिगोपना सुनिश्चितता नगर’ घोषणा गरिएको छ । थाहा नगरपालिकामै ३ असारमा एक कार्यक्रमको आयोजना गरी वडा तथा पालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

थाहा नगरपालिकालाई नगर खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख विष्णु बहादुर विष्ट र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारले संयुक्त रूपमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन् । ‘पूर्ण खोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित नगर खोप समन्वय समितिका पदाअधिकारीहरुको उपस्थितीमा पालिका घोषित भएको हो ।

थाहालाई पूर्ण खोप दिगोपना सुनिश्चितता नगर घोषणा गर्दै नगर प्रमुख बिष्टले खोपले बालबालिकालाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने भएकाले कसैलाई पनि खोपबाट वञ्चित गर्न नहुने स्पष्ट पारे। विष्टले खोप सुनिश्चितता अभियानमा योगदान गर्ने सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई धन्यवाद दिएका थिए । स्वास्थ्य सेवाका उपलब्धीलाई संस्थागत गर्दै आगामि दिनमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रमुख विष्टले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।

 

थाहानगरमा पहिलो चरणमा सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेपछि, निर्धारित सूचक र ‘पूर्ण खोप निर्देशिका २०७१’ को आधारमा यो वर्ष खोपको दिगोपना सुनिश्चित गरिएको हो । नगरका ०–१५ महिनाका ६४१ जना र १६–२३ महिनाका ५४७ जना बालबालिकाले पूर्ण खोप लगाएका थिए। पछिल्लो सर्वेक्षणअनुसार, १६–२३ महिनाका ४३८ र ०–१५ महिनाका ४८८ जना बालबालिकाले पूर्ण रूपमा खोप लगाएको तथ्यांक रहेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

खोप समन्वय समितिको सक्रियतामा हरेक वडामा घरभेट सर्वेक्षण, २९ वटा खोप केन्द्रबाट मासिक नियमित सेवा र छुटेकालाई खोप दिने कार्य भएको जनाइएको छ । यसै आधारमा करिब ९५ प्रतिशत खोप पहुँच दर पुगेपछि, पालिकालाई जिल्ला समन्वय समितिमा प्रस्ताव पेश गरिएको र स्वीकृत भई घोषणा गरिएको हो । घोषणा कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख भरत गोपाली, विशिष्ट अतिथि जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण मिजार, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, १२ वटै वडाका अध्यक्षहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागिहरुले खोप सुनिश्चितता पालिका बनाउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । थाहा नगरपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्र, तीन आधारभूत स्वास्थ्य केन्द्र र तीन सहरी स्वास्थ्य केन्द्रसहित पाँचवटा स्वास्थ्य संस्था रहेका छन् ।

पालिका प्रेस
थप जानकारी