मकवानपुर थाहा नगरपालिकाले टोल विकास संस्था गठन तथा सञ्चालनलाई प्राथमिकता दिदै १२ वटै वडाहरुमा टोल विकास संस्था गठन गर्ने नीति लिएको छ । गठन भएका टोल विकास संस्थाहरुको क्षमता विकास गरिने, टोल विकास संस्था वा बजार व्यवस्थापन समिति गठन भएका क्षेत्रमा योजना सञ्चालन गर्दा उक्त दर्ता भएकै समिति मार्फत नै योजना सञ्चालनमा जोड दिने थहा नगरपालिकाको नीति छ ।
पालुङ जेसिज सभाहलमा ७ असारमा भएको १८ औं नगरसभामा प्रमुख विष्णु बहादुर विष्टले पेश गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको छ । बजार व्यवस्थापन समितिको हालसम्मका कामलाई उच्च प्राथमिकता दिदै सहकार्यमा बजार क्षेत्रमा योजना तथा समिति सञ्चालन व्यवस्थापन तालिम, अनुदान कार्यक्रम मुल्याङकनका आधारमा संचालन गर्ने पनि नीतिमा उल्लेख छ ।
विभिन्न जातिसँग सम्बन्धित ऐतिहाँसिक, धार्मिक मेला महोत्सव, पर्व सञ्चालनका लागि आर्थिक सहायता प्रदान गर्दै आयरहेकोमा सोलाई निरन्तरता दिदै थप व्यवस्थित बनाउनका लागि अक्षय कोष खडा गर्न तथा श्रीबृद्धिका लागि आवश्यक कार्यक्रम तथा पहल गर्ने, नगर क्षेत्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका मठ, मन्दिर, पोखरी, चैत्य, गुम्बाको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइने, यस्ता महत्वका क्षेत्रमा पहिचान खुल्ने गरी संकेत चिन्ह राखिने, साँस्कृतिक धार्मिक ट्रेल निर्माणका लागि प्रकृया अघि बढाइने नीतिमा उल्लेख छ ।
मौलिक हस्तकलाको विकास संरक्षण तथा प्रवद्र्धनका लागि प्रोत्साहन गरिने, थाहा नगरपालिकामा ध्यानयोगलाई विकास तथा विस्तार गर्न आवश्यक प्रशिक्षकहरु उत्पादन गरि ध्यानयोग प्रयोगशाला व्यवस्थापन गर्ने, थाहा नगरपालिकाको साँस्कृतिक, धार्मिक, सामाजिक, भौतिक, प्राकृतिक पक्षको व्यापक प्रचार प्रसार गर्न संघ संस्थासँग सहकार्यमा मेला, महोत्सव सञ्चालन तथा अन्य स्थानीय तहसँग भगिनी सम्बन्ध विस्तारका लागि पहल गर्ने नगरपालिकाको नीति छ ।‘मेड इन थाहा, मेड फर भन्ने नाराका साथ स्थानीय सीप र प्रविधिमा आधारित उद्योग स्थापना गर्नका लागि प्रोत्साहन गर्ने र स्थानीय उत्पादनलाई नगरपालिकाको कार्यक्रमहरुमा प्रयोग गर्न प्रोत्साहन गर्ने नीतिमा समेटिएको छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्