लमजुङको क्व्होलासोंथर गाउँपालिकाका किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । गाउँपालिकाले कृषिमा यन्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउन किसानलाई हाते ट्रयाक्टर वितरण गरेको हो ।

गाउँपालिकाले चालू आर्थिक वर्ष ०७८/७९ मा विनियोजन गरेको ५ लाख रुपैयाँ बजेटमा ट्रयाक्टर खरिद गरी किसानलाई वितरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले बताए । कृषिलाई यन्त्रीकरणसँग जोड्न र उत्पादन बढाउन उनले आग्रह गरे । गाउँपालिका कृषि शाखा प्रमुख श्रीकान्त न्यौपानेले बर्खा र हिउँद गरी दुवै समय चलाउन मिल्ने २ वटा चक्कासहित किसानलाई हाते ट्रयाक्टर दिइएको जानकारी दिए । डिजेलबाट चल्ने ६ हर्सपावर र ७ हर्सपावर गरी २ प्रकारका ट्रयाक्टर वितरण गरिएको हो ।

एउटाको ६५ हजार रुपैयाँ मूल्य पर्ने ट्रयाक्टरलाई ५० प्रतिशत अनुदान दिई ३२ हजार ५ सय गाउँपालिकाले बेहोरेको र बाँकी किसान आफैंले लगानी गरेको उनले बताए ।गाउँपालिकाले हरेक वर्ष हाते ट्रयाक्टर वितरण गर्दै आएको छ । गत वर्ष पनि हाते ट्रयाक्टर वितरण गरिएको कार्यालयले जनाएको छ । यसले किसानलाई थप सहज बनाएपछि चालू आर्थिक वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिइएको पालिकाको भनाइ छ । यो वर्ष १२ जना किसानको आवेदन परेकामा ९ जनालाई वितरण गरिएको छ ।

गत वर्ष १७ जनाको निवेदन परेकामा ८ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको थियो । व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेकालाई लक्षित गरी ट्रयाक्टर वितरण गरिएको गाउँपालिकाले बताएको छ ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार पछिल्लो समय गोरु पाउन मुस्किल परेको र युवा पुस्ता विदेश पलायन भएकाले खेतीयोग्य जमिन बाँझो बनेको स्थानीयको गुनासो छ । हाते ट्रयाक्टरले बाँझो खेत जोत्न सहज हुने भएकाले किसानलाई बाँडिएको उनले बताए ।

बाँझो जग्गामा सहज रूपमा खेती गर्न गाउँपालिकाले ट्रयाक्टर सहयोग गरेको उनले जानकारी दिए । विदेश गएका युवालाई गाउँमै फर्काएर कृषि कर्ममा आकर्षित गराउन र स्वरोजगार बनाउन पनि हाते ट्रयाक्टरले सहयोग गर्ने उनको विश्वास छ ।

पालिका प्रेस
थप जानकारी