मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर १ र ३ लाई १३ भाद्रमा बालमैत्री वडा घोषणा गरिँदैछ । यस अघि जिल्ला समन्वय समिति मकवानपुरको प्रमाणिकरण पश्चात् ३२ असारमा पालिकाले गरेको निर्णयको आधारमा १३ भाद्रमा घोषणा सभा हुन लागेको हो । थाहाका दुवै वडाले ५१ प्रमुख सूचक र २ थप सूचक गरी ५३ सूचक पूरा गरी बालमैत्री घोषणा गर्न लागिएको हो ।

घोषणा सभाको पूर्व सनध्यामा बाल क्लबका प्रतिनिधिहरूलाई अभिमुखीकरण तथा क्षमता अभिवृद्धि तालिम दिइएको छ । तालिममा सहभागी बालप्रतिनिधिहरूलाई उद्घोषण, कार्यक्रम सञ्चालन तथा बालमैत्री वडाका विषयमा जानकारी गराइएको हो । तालिममा थाहा नगरपालिका सूचना अधिकारी सुरजकुमार भुजेल र बालकल्याण अधिकृत अनिल लामिछानेले सहजीकरण गरेका थिए।

फोकल पर्सन लामिछानेका अनुसार वडा नंम्बर १ र ३ ले बालमैत्री वडा घोषणाका लागि आवश्यक सूचक प्राप्त गर्ने तयारीको चरण, पूर्वतयारी, नीति तथा योजना तर्जुमा र कार्यान्वयन, अनुगमन–मूल्याङ्कन तथा प्रतिवेदन तयार गर्ने चरण र दिगोपनाको चरणसमेत पूरा गरिसकेको बताए । उनले वडा स्तरमा टोल–टोलमा पुगेर बालमैत्री सूचकहरू पुरा गर्नका लागि विभिन्न गतिविधिहरू सञ्चालन गरिएको जानकारी दिए।

थाहा नगरपालिकाले बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वातावरण निर्माणका लागि नीति निर्माणदेखि व्यवहारिक अभ्याससम्मको पहल अघि बढाएको जनाएको छ।

पालिका प्रेस
थप जानकारी