विश्वकर्मा पूजा आउन करिब तीन साता बाँकी रहँदा हेटौंडामा विश्वकर्माको मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजाका दिन विश्वकर्माको पूजाआराधना गर्दै यहाँ उत्सव मनाउने प्रचलन रहेको छ । मूर्तिकार महोमद शाहले असोज १ गते मूर्तिको माग बढी हुने भएकाले अहिलेदेखि बनाउन थालिएको बताए । विश्वकर्मा पूजाका लागि फरकफरक स्वरुपका कलात्मक मूर्ति बनाउन उहाँलाई हिजोआज भ्याइनभ्याइ छ ।

हेटौंडाका बिभीन्न स्थानमा माटोको मूर्ति निर्माण गर्ने, निर्मित मूर्तिलाई सिँगार्ने, रङ लगाउने, सजाउने, आकर्षक बनाउनेलगायत कार्यमा व्यस्त हुने गरेको शाहले बताए ।
‘पूजाको दिन बजारमा कलकारखाना, उद्योग, औजार र उपकरणलगायत क्षेत्रमा मूर्ति मा बढी हुन्छ।’ उनले भने–मूर्तिलाई प्रतिस्थापना गरेर पूजाअर्चना गर्ने प्रचलन छ ।’ बजार मागअनुसार आपूर्ति गर्ने उद्देश्यले साउनको दोस्रो सातादेखि विश्वकर्मा बाबाको मूर्ति बनाउन सुरु गरेको हुँ, पछि हतार गर्नुभन्दा अहिलेदेखि काम गर्दा सहज हुने उनको भनाइ छ ।

मूर्तिकार शाहले हालसम्म हेटौंडाका विभिन्न स्थानमा मूर्ति निर्माण भइसकेका जनाउँदै थप मूर्ति बनाउने तयारी भइरहेको बताए । ग्राहकको मागअनुसार विभिन्न दररेटका मूर्ति बनाउने गरेको शाहले उल्लेख गरे । ‘एउटा मूर्ति बनाउन झण्डै एक साता लाग्छ । तीन दशकदेखि मूर्तिकार पेसालाई अगाँल्दै आएको छु । विश्वकर्माको पूजा, छठ पर्व, वडादसैँलगायत चाडपर्वका लागि विभिन्न देवीदेवताका मूर्ति बनाएर बिक्री गर्दै आइरहेको छु’, उनले भने ।

मूर्ति निर्माणका लागि माटो, पराल, सुतली धागो, काठ, किला, कपास, बोरालगायत सामग्री प्रयोग हुने शाहले जानकारी दिए । लामो समयदेखि यही पेसाबाट छोराछोरीको शिक्षादिक्षासँगै आठ जनाको परिवारको जीविकोपार्जन भइरहेको उनले बताए ।

पालिका प्रेस
थप जानकारी