नेकपा एमाले थाहानगर कमिटिले मकवानपुरको उत्तरी क्षेत्रका लागि इलाका प्रशासन कार्यालय स्थापनाको गर्न पहल गरेको छ । जिल्लाको थाहा नगरपालिकामा प्रशासन कार्यालय स्थापना गर्न ११ भाद्रमा मकवानपुर–२ का प्रतिनीधिसभा सदस्य सांसद महेश कुमार बर्तौलालाई ज्ञापनपत्र बुझाउँदै पहल थालेको जानकारी दिएको हो ।

यसअघि ९ भाद्रमा मन्त्रिपरिषद्को प्रशासन समितिमा देशभर २३ इलाका प्रशासन कार्यालय स्थापनाको लागि सिफारिस हुँदा थाहा नगरपालिका नपरेपछि एमालेले आफ्नै ढंगबाट पहल अघि बढाएको एमाले थाहानगर कमिटि अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी दिए । सांसद बर्तौलालाई बुझाइएको पत्रमा २०७१ बैशाख २५ गते नगरपालिका घोषणा पश्चात् नै कार्यालय स्थापनाको लागि एमाले थाहानगरले निरन्तर पहल गर्दै आएको उल्लेख गरिएको छ । देशभर २३ जिल्लामा प्रशासन कार्यालय स्थापना गर्ने निर्णय हुँदा पनि थाहा नगरपालिका पर्न नसक्नु स्थानीय सरकारको सक्रियता र निरन्तर दबाबको अभाव मुख्य कारण रहेको ज्ञापनपत्रमा ठहर गरिएको छ ।

यसैबीच मकवानपुरको उत्तरी क्षेत्रका पालिकाका नागरिकहरुलाई सेवा पु¥याउने गरी थाहा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाको लागि पहल गर्ने सांसद महेश कुमार बर्तौलाले प्रतिवद्धता व्यक्त गरेका छन् । नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका बर्तौलाले भने–‘नेपालको संविधान, २०७२ ले परिकल्पना गरेको अन्तर तह समन्वय अभावका कारण इलाका प्रशासन कार्यालय स्थापनाका लागि सिफारिस हुन सकेन, अब म यस विषयलाई लिएर लाग्छु स्थापना गरेरै छाड्छु’ उनले भने–‘म नेपाल सरकारको तहमा सकारात्मक परिणाम आउने गरी तुरुन्तै आज नै पहल थालनी गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ नागरिकले सहज सेवा लिन पाउनु संघीयताकै मर्म भएकोले पनि इलाका प्रशासन कार्यालय स्थापनामा आफ्नो पहल हुने सांसद बर्तौलाको भनाइ छ ।

मकवानपुरको उत्तरी क्षेत्रलाई केन्द्रित गरेर इलाका प्रशासन कार्यालय स्थापनाका लागि वि.सं. २०७३ सालदेखि नै पहल भइरहेको छ । करिब एकदशकदेखि पहल हुँदा पनि ९ भाद्रको निर्णयमा थाहा नगरपालिका सिफारिस नहुनुमा यसअघिको प्रयास पूर्णतः असफल सावित भएको स्थानीयहरुको प्रतिक्रिया छ । यद्यपि सांसद बर्तौलाको प्रतिवद्धताले प्रशासन कार्यालय स्थापनाका लागि आश जगाएको नेकपा एमाले थाहानगर सचिव सुजन कुमार रायमाझीले बताए ।

पालिका प्रेस
थप जानकारी