मकवानपुरको राक्सिराङ गाउँपालिका–३ का वडा अध्यक्ष उत्तम वाइबा तामाङले आफ्नो वडा भित्र रहेका वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता नविकरणका लागि घरघरमै पुगेर सेवा प्रदान गर्न थालेका छन्।

वडा अध्यक्ष स्वयं टोलटोल र घरघर पुगेर भत्ता नविकरणको काम गरेकाले सेवाग्राहीहरू निकै खुशी भएका छन्। वृद्धवृद्धाहरूलाई कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भई घरमै सहज रूपमा सेवा पाउँदा वडावासीहरूले खुसी व्यक्त गरेका छन्। वडा अध्यक्ष वाइबाले जनताको सेवाकै लागि आफू निर्वाचित भएको उल्लेख गर्दै, वडावासीलाई सहज सेवा दिनु आफ्नो पहिलो दायित्व भएको स्पष्ट गरे। उनले भने, “वृद्धवृद्धा र अशक्त नागरिकहरूलाई कार्यालयसम्म आउन सजिलो हुँदैन, त्यसैले घरमै पुगेर सेवा दिनु नै हाम्रो प्रमुख प्राथमिकता हो, त्यसैले जनताको घरमै कर्मचारी समेत लिएर आएको हुँ।”

सेवाग्राहीहरूले पनि वडा अध्यक्षको यो पहलप्रति प्रशंसा व्यक्त गरेका छन्। उनीहरूले वडास्तरमै मात्र नभई गाउँपालिका र अन्य स्थानीय निकायहरूले समेत यस किसिमका सेवामुखी कार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। यसैबीच वडा अध्यक्ष वाइबाले आगामी दिनमा अन्य सामाजिक सेवासम्बन्धी कार्यहरूलाई पनि जनताको घरदैलोमै पुगेर सहज बनाउने योजना रहेको बताए। उनका अनुसार, स्थानीय सरकारले जनताकै घरआँगनसम्म सेवा पुर्याउन सके मात्र जनप्रतिनिधिको भूमिका सार्थक हुन्छ।

पालिका प्रेस
थप जानकारी