मकवानपुरको हेटौँडा–१२ घट्टेदमार र मनहरी–२ घट्टेदमार जोड्नको लागि पक्की पुल निर्माण हुने भएको छ । बागमती प्रदेश सरकारको लगानीमा सिद्धकाली खोलामा पक्की पुल निर्माण हुने भएको हो ।

पुल निर्माणको लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३ करोड २५ लाख बजेट विनियोजन गरेसँगै सिद्धकाली खोलामा फिल्ड सर्भे गरी डिपिआरको तयारी गरिएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीसहित पूर्वाधार विकास कार्यालय हेटौँडाका इन्जिनियरलगायतको टोलीले फिल्ड सर्भे गरेको हो । पुलको कुल लागत अनुमान गरी चालु वर्षमै ठेक्का लगाउने गरी काम अघि बढाइएको पूर्वाधार विकास कार्यालय हेटौँडाका सव इन्जिनियर रविन्द्र यादबले जानकारी दिए । सिद्धकाली खोलामा पुल निर्माणपछि मनहरी गाउँपालिका १,२,३ का स्थानीयलाई हेटौँडा–१२ हुँदै पूर्वपश्चिम राजमार्ग निस्कन सहज र छोटो मार्ग निर्माण हुनेछ । हाल विनियोजित बजेटबाट काम सुरु गरिने र अर्को वर्ष स्रोत सुनिश्चित गराई बहुवर्षीय ठेक्कामार्फत पुल निर्माण गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

फिल्ड सर्भेमा मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीसहित मनहरी ३ का वडाध्यक्ष अनन्तप्रकाश अर्याल, ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठ, पूर्वाधार विकास कार्यालय हेटौँडाका सव इन्जिनियर रविन्द्र यादव, हेटौँडा १२ का कांग्रेस नेता कुमार पोखरेल, शम्भु तिवारीलगायतको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी