महाकवि लक्ष्मीप्रसाद देवकोटाले सिर्जना गरेको यात्री कविता नसुनेकाहरु विरलै होलान् । उनै महाकवि देवकोटालाई यात्री कविता फुरेको ठाउँ हो मकवानपुरको चित्लाङ । स्थानीय बयोवृद्धहरुको अनुसार चर्चित कविता यात्रीको रचना गर्भ झण्डै सातदशक अघिको समय हो । चित्लाङमा रहेको एउटा ढुङगे धारामा बसेर महाकविले रचना गरेको जनश्रुति छ ।

कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसरी लाने हो ..!

चन्द्रगिरिबाट मकवानपुर झर्दा पहिलो धाराको रुपमा रहेको गुर्जुधारामा बसेर सुस्ताउदै महाकवि लक्ष्मीप्रसाद देवकोटाले विक्रम संवत १९९८ मा कविता लेखेको बताइएको छ । चन्द्रगिरिको फेदीमा चित्लाङ–२ मा रहेको धारामा बसिरहेका देवकोटाले पशुपति दर्शनका लागि अर्को व्यक्तिको काँधका बोकिएर आएका भारतीय तिर्थयात्रीहरुलाई देखेर यो कविता लेखेको स्थानीय बुद्धरत्न मानन्धरले बताए । अहिले धारा नजिकैका घरहरु भत्किसकेको अवस्थामा पुगेका छन् । देवकोटाले धारामा पानी पिएर थकाई मारेर बसेको ढुङगो अझै त्यहीँ रहेको स्थानीय बाबुकाजी मानन्धर बताउँछन् । पशुपतिनाथ दर्शनका लागि धेरै संख्याका भारतीय नागरिकहरु त्यही बाटो भएर काठमाडौँ जाने गरेका थिए ।

राजधानी काठमाडौँलाई जोड्ने पहिलो सडक त्रिभुवन राजपथ निर्माणपूर्व काठमाडौँ–चन्द्रागिरि–चित्लाङ–भीमफेदी हुँदै हेटौँडाबाट भारतीय सीमासम्म पुग्ने गरिन्थ्यो । नेपाल भारत सीमा क्षेत्रवाट काठमाडौँ जानका लागि अन्य बाटो नभएपछि यही मार्गको प्रयोग हुने मनन्धरले बताए । उनले भने–‘उतीबेला चित्लाङको बाटो दुई तर्फी चल्थ्यो, राती सुत्ने दिनभरी व्यापार गर्थे ।’ चित्लाङमै यात्री कविता रचेको घरैमा दस्तावेज भेटेर देवकोटा परिवारका पाँचजनाले वि.सं. २०४१ सालमा चित्लाङ आएर ठाउँ अवलोकन गरेको तत्कालिन स्वच्छन्द भैरब स्कूलका प्रधानाध्यापक बुद्धरत्न मानन्धरले जानकारी दिए ।

देवकोटा परिवारले २०४२ सालमा चन्द्रागिरि भन्ज्याङमा ठूलो बोर्डमा यात्री कविता लेखेर झुण्ड्याएका थिए । द्वन्द्धकालका बेला उक्त बोर्ड हराएको मानन्धरले सुनाए । लक्ष्मी प्रसाद देवकोटालाई सम्झिनको लागि चित्लाङमा उनको अर्धकदको शालिक निर्माण गर्ने अभियान चलिरहेको मानन्धरले बताए ।

गित सुन्नुहोस् ।

powered by Advanced iFrame