मकवानपुर थाहा नगरपालिकाको पालुङका नेवार समुदायले तिहारको अवसरमा लक्ष्मी भित्र्याउने पुरानो चलन अझै जीवित राखेका छन् । लोपोन्मुख अवस्थामा रहेको यो चलन उनीहरुले जोगाएका मात्र छैनन्, अहिले अरु समुदायमा समेत विस्तार भएको छ । पालुङमा अन्यत्र जस्तो लक्ष्मी पुजाको दिन घरघरमा दिप प्रज्वलन गरेर लक्ष्मी पुजा शुरु हुँदैन । उनीहरु त थाहानगरको २ नम्बर वडामा रहेको लक्ष्मीश्वर मन्दिरबाट दीप जगाएर घरघरमा भित्र्याएपछि त्यही बत्तीबाट अरु दीप प्रज्वलन गर्छन् र, बल्ल उनीहरुको साँझको लक्ष्मी पुजा शुरु हुन्छ ।

यस्तो चलन थाहानगरको अन्यत्र ठाउँमा छैन । लक्ष्मीश्वर मन्दिरलाई स्थानीयहरु पाथीभरा मन्दिरले पनि चिन्दछन् । पालुङका नेवार समुदायमा मात्र रहेको यो चलन अहिले अन्य समुदायमा समेत विस्तार भएको स्थानीय निरोज प्रधानले बताए । प्रधान भन्छन्–‘पहिले पहिले नेवार समुदायमै पनि बुढापाका भएका घरहरुमा मात्र यस्तो चलन थियो, युवा पुस्ताले बिर्सिदै गएका थिए अहिले फेरि जागेका छन्, यो खुशीको कुरो पनि हो ।’ लक्ष्मीश्वर मन्दिरमा दीप जगाउन अहिले पालुङ गाउँलगायत सोल्टू, गैरीगाउँ, फाँटबजार, फेदीगाउँ र आसपासका बासिन्दाहरु समेत पुग्छन् ।

यसअघि नेवार र छिटफुट रुपमा क्षेत्री समुदायबाट भक्तजनहरु पुग्ने गरेकोमा यसपालि तामाङ समुदायबाट समेत दीप जगाउन पुगेको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष माधव कार्कीले बताए ।

पाथीभरा डाँडाको रुपमा परिचित लक्ष्मीश्वर मन्दिरमा बालेको बत्ती ननिभाइ घर पु¥याउँदा घरैमा लक्ष्मी जाने अहिले पनि विश्वास गरिन्छ । स्थानीयहरु मन्दिरमा सल्काएको दियो ननिभाइ घरसम्म पु¥याउनका लागि पित्तलको कँडाली प्रयोग गर्छन् । मन्दिरमा कँडालीभरी फूल अक्षता र पुजाका सामान लिएर पुगेकाहरु बलेको दियो लिएर फर्किन्छन् । मन्दिरमा दीप जगाउन जानेहरु विहानै नुहाइधुवाइ गरेर दिनभर व्रत बस्छन् र अपरान्ह मन्दिर पुग्छन् । मन्दिरमा पुजाआजा सकेर घरमा बलेको दियो भित्र्याए पश्चातको लक्ष्मी पुजा सकेपछि मात्र खाना खान्छन् ।

पालुङको लक्ष्मीश्वर (पाथीभरा) मन्दिर । फोटोः गणेश विष्ट/पालिका प्रेस
पछिल्ला वर्षहरुमा लक्ष्मी पुजाको दिन लक्ष्मीश्वर पुग्नेहरुको संख्या बढ्न थालेको छ । मन्दिरमा पालुङको धिमे बाजा समूहलाई क्षेत्र विकास समितिले निम्तो गर्ने गरेको छ । भक्तजनहरु बाजागाजासहित मन्दिर पुग्छन् । मन्दिर परिसरमा पनि नेवारी बाजा बजाउने र नाचगान तथा भजनका कार्यक्रम हुने गरेको समितिका अध्यक्ष कार्कीले बताए । मन्दिर पुग्न ढिलो भएकाहरु पनि नेवारी बाजा बजेको सुनेपछि बत्ती बाल्ने बेला भएको संकेत बुझ्छन्, र साँझ नपर्दै दीप जगाउन मन्दिर पुगिहाल्छन् ।

बाजागाजाको व्यवस्थापन पालुङ साँस्कतिक सम्पदा समितिले गर्ने गरेको छ । पुराना पुस्ता बित्दै जाँदा लोपोन्मुख अवस्थामा रहेको साँस्कृतिक चलनप्रति युवापुस्ताको आकर्षण बढेकोप्रति अध्यक्ष कार्कीले खुशी व्यक्त गरे । उनले लक्ष्मीश्वरमा चल्तीमा रहेको लक्ष्मी पुजा र दिपावलीलाई अझ व्यापक रुपमा सञ्चालन गर्ने योजना सुनाए । यसका लागि समिति, स्थानीय र सबै सरकोकारवालाहरुले सहयोग र सद्भाव देखाउनु पर्ने उनको सुझाव छ ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्