हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले स्थानीय कृषकलाई स्याउका बिरुवा वितरण गरेको छ । जुम्लाबाट हवाईजहाजमार्फत स्याउका बिरुवा जिल्लामा पुर्‍याएपछि वितरण गर्न सुरु गरिएको हो  । पैदल मार्गबाट ल्याउन सम्भव नभएपछि जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट बिरुवा दोहोरो हवाई भाडा तिरेर ल्याइएको गाउँपालिकाका लेखाप्रमुख अश्विनीकुमार देवकोटाले जानकारी दिए ।

गाउँपालिकाले चालु चालु आर्थिक वर्षको फलफूल तथा कृषि विस्तारको ‘एक घर एक बगैँचा’ कार्यक्रमअन्तर्गत साढे १२ हजार स्याउका बिरुवा खरिद गरेर ढुवानी गरेपश्चात् कृषकलाई वितरण सुरु गरिएको उनको भनाइ छ । स्याउका विरुवा जिल्लामा पुगेसँगै गाउँपालिकाले वडा नं ६ बाहेक  १ देखि ५ सम्मका वडाका बासिन्दालाई ती बिरुवा वितरण गर्न थालेकोे हो । रेड, रोयल डेलिसियस, गोल्डेन र जनार्थन जातका स्याउका बिरुवा प्रतिबोट रु ७७ दरले खरिद गरिएकोे लेखा प्रमुख देवकोटाले बताए । सेवाप्रदायक निकायले स्याउमा लगानी गरिएको बजेटको ६० प्रतिशतभन्दा बढी ढुवानीमा लगानी गर्न  बाध्य भएको जनाएका छन् ।

त्यसैगरी सिमकोट, खार्पुनाथ, कृषि विकास कार्यालय र स्याउ जोन कार्यक्रमले पनि स्याउ र ओखरका बिरुवा हवाई मार्गबाटै ढुवानी गरेर ल्याउने गरेको छ  ।

 

पालिका प्रेस
थप जानकारी