आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरको दुई क्षेत्रबाट ४४ जनाले मनोनयन दर्ता गराए । जसमा जिल्लामा पूराना, स्थापित दल र नयाँ र स्वतन्त्रहरु यसपटकको चुनावी मैदानमा देखिने भएका छन् । यसपटक मकवानपुरमा अनुभवी नेता र नयाँ अनुहारका यूवा नेताहरुको रोचक प्रतिष्पर्धा देखिने भएको छ । दुई निर्वाचन क्षेत्रका लागि स्वतन्त्रबाट मात्रै ११ जना उम्मेद्वार रहेका छन् ।
त्यस्तै निर्वाचन प्रक्रियामा अभ्यस्त दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका अन्य दलहरु आगामी निर्वाचनमा होमिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र नयाँ दलका पार्टीहरुले यसपटकको चुनावमा युवा पुस्तालाई अघि सारेको छ । अधिकाशं उम्मेद्वारहरु ४० वर्ष मुनिका रहेका छन् । तर नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा र नेकपाले भने जिल्लामा स्थापित र अनुभवी उम्मेद्वारहरुलाई चुनाव लड्न अगाडि सारेको छ ।
नेकपा एमालेले मकवानपुर– १ बाट दलका स्थापित र अनुभवी नेता रामेश्वर रानालाई उम्मेद्वार बनाएको छ भने मकवानपुर– २ मा युवा नेता महेश बर्तौलालाई उम्मेद्वार बनाएको छ । त्यसोत, यसअघि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा त्यहि क्षेत्रबाट विजयी भएर सांसद बनेका बर्तौलाले यसपटक पनि टिकट हात पारेर उम्मेद्वारी दिएका छन् ।
तर, सोहि बेलाको निर्वाचन लड्ने अन्तिम तयारीमा पुगेका रामेश्वर रानालाई भने अघिल्लो पटक पार्टीबाटै घात भयोे । अन्तिम समयमा राप्रपाका नेता कमल थापालाई आफ्नो पक्कापक्की टिकट सुम्पिनु परेको थियो रानाले । सो बेला राप्रपा नेता थापाले एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेका थिए । २०३६ देखि सक्रिय राजनीतिमा जोडिएका राना संगठनको त्यागी नेताको रुपमा परिचित छन् । उनको शालीन व्यक्तित्वले आफ्नो मात्र नभई अन्य राजनीतिक संगठनमा सकारात्मक प्रभाव छाडेका छन् ।
उनी २०३६ सालमा विद्यार्थी आन्दोलनबाट प्रभावित भई अनेरास्ववियुसँग जोडिए । २०३७ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्र्थी युनियनमा संगठित भएका राना । २०३८ सालमा अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको उपाध्यक्ष बने । २०४० सालमा जिल्ला अध्यक्ष चुनिएका उनी २०४२ सालमा काठमाडौंमा सम्पन्न अनेरास्ववियुको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य बने । त्यसपछि उनको राजनीतिक यात्रा पार्टी र राज्यका विभिन्न तहमा फैलिँदै गयो । २०४२ सालमा नेकपा (एमाले) हटौंडा नगर कमिटी सदस्य, २०४६ सालको जनआन्दोलनमा मकवानपुरमा आन्दोलनको नेतृत्व, २०४७ सालमा नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य, प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय तयारी समिति सदस्य, २०४० सालमा जिल्ला विकास समितिको जननिर्वाचित सदस्य हुँदै उनी अगाडि बढे ।
२०५१ सालमा एमाले मकवानपुरको पार्टी सचिव बनेका राना २०५४ सालमा जिल्ला समितिको जननिर्वाचित सभापति भए । अध्यक्ष प्रणाली विकासपछि उनी दुई कार्यकालसम्म एमाले मकवानपुरको अध्यक्षको जिम्मेवारीमा रहे । प्रदेश र केन्द्रमा पनि उनको भूमिका निरन्तर रह्यो । २०७० सालमा बागमती प्रदेश कमिटी सदस्य, २०७२ मा एमाले केन्द्रीय कमिटी सदस्य, २०७८ सालमा चितवनमा सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटी सदस्य तथा पार्टी मकवानपुरको इन्चार्ज बने । २०८२ सालमा सम्पन्न पार्टीको १२ औँ राष्ट्रिय महाधिवेशनबाट फेरि केन्द्रीय सदस्य निर्वाचित भई हाल जिल्ला इन्चार्जको भूमिका निर्वाह गरिरहेका छन् । २०८० सालमा उनी भूमि आयोग मकवानपुरको अध्यक्षका रुपमा समेत कार्यरत रहे ।
यसरी झण्डै ५० वर्ष राजनीति गरेर संगठनमा महत्वपूर्ण योगदान पु¥याएका राना यसपटक भने प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने आकांक्षासहित अगाडि बढेका छन् । निर्वाचन क्षेत्रमा समेत आफ्नो बलियो पकड बनाएका रानाले आफूले अन्य उम्मेद्वारलाई पन्छाउदै जित हाँसिल गर्ने दावी गर्दै आइरहेका छन् । लामो समयसम्म राजनीतिमा भिजेका नेता रानाले सोहि क्षेत्रबाट उम्मेद्वारी दर्ता गराएकी कांग्रेसमा लामो समयदेखि क्रियाशील र पूर्व सांसद समेत रहेकि महालक्ष्मी उपाध्याय ‘डिना’, नेपाली कम्युनिष्ट पार्टीबाट युवा उम्मेद्वार विजय गौतम, राप्रपाबाट यसअघि निर्वाचित दीपकबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्र्टीका यूवा नेता प्रकाश गौतमसँग बलियो प्रतिष्पर्धा गनुपर्ने छ ।
त्यसोत उम्मेद्वारी दर्ता लगतै चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा जुटेका रानाले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् । उनले भने “देश निर्माणको संकल्प बोकेर अघि बढेको पार्टीको उम्मेद्वार भएकाले चुनाव जित्नेमा म विश्वस्त छु ।” उनका अनुसार पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक चुनावी अभियानमा जुटिरहेका छन् । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्दै विकास र समृद्धिको नेतृत्व नेकपा एमालेले नै गरेको उनको दावी छ ।
“हामीले प्राप्त गरेका उपलब्धि जोगाउन र अझ अघि बढाउन एमालेले बहुमत ल्याउन आवश्यक छ,” उनी भन्छन् । सबै प्रतिस्पर्धीसँग स्वस्थ प्रतिस्पर्धामार्फत निष्पक्ष जित निकाल्ने विश्वास पनि उनले व्यक्त गरेका छन् । निर्वाचन क्षेत्र नम्बर–१ मा रानासहित २३ जनाको उम्मेद्वारी परेको छ । तीमध्ये १३ जना विभिन्न राजनीतिक दलका उम्मेद्वार हुन् भने १० जना स्वतन्त्र उम्मेद्वार छन् ।
मकवानपुर जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेकोमा यस निर्वाचन क्षेत्रमा मात्र एक लाख ५८ हजार ४३५ मतदाता छन् ।

















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्