मकवानपुरको दुर्गम क्षेत्रमध्ये एक कैलाश गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। गाउँपालिकाको केन्द्र कालिकाटारमा बनेको बीपी स्मृति कैलाश आधारभूत अस्पतालको बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेसँगै सेवा सुरु गरिएको हो।
संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैयाँ लागतमा निर्माण भएको अस्पताल भवन करिब चार वर्ष लगाएर सम्पन्न गरिएको हो। आशिष÷आर्शिवाद÷स्वामी नारायण जेभीसँग २०७८ जेठ २७ गते निर्माण सम्झौता भएको उक्त भवन २०८२ असारमा तयार भएको हो। अढाई तले भवनमा विभिन्न विशेषज्ञ सेवासँगै एक्स–रे तथा प्रयोगशाला सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ ।

कैलाश गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार अस्पतालमा दुई जना चिकित्सकसहित २२ जनाको दरबन्दी रहनेछ। जसमा ५ जना स्टाफ नर्स, २ जना अनमी, ३ जना हेल्थ असिस्टेन्ट, २ जना अहेव, १ जना कविराज, १ जना ल्याब टेक्निसियन, १ जना रेडियोग्राफर, १ जना फार्मेसी सहायक, १ जना डेन्टल हाइजिनिस्ट, १ जना नासु, २ जना कार्यालय सहयोगी, १ जना सरसफाइकर्मी र १ जना सुरक्षाकर्मी रहने व्यवस्था गरिएको छ । हाल भने स्वास्थ्य चौकीको सीमित दरबन्दीबाट सेवा सञ्चालन भइरहेको उनले बताए।
अस्पतालबाट इमरजेन्सी सेवा, स्त्रीरोग, बालरोग, दन्तरोग, छालारोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे तथा इसिजी लगायतका सेवा उपलब्ध गराउने तयारी गरिएको छ। गाउँमै अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि स्थानीयले जिल्ला सदरमुकाम हेटौँडा वा भरतपुर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिका केन्द्रमै अस्पताल स्थापना भएपछि स्थानीयलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने र स्वास्थ्य सेवामा पहुँच बढ्ने विश्वास व्यक्त गरे। अस्पतालबाट गाउँपालिकाका सबै १० वटै वडा तथा छिमेकी राक्सिराङ गाउँपालिकाका केही वडाका बासिन्दाले समेत सेवा लिन सक्ने जनाइएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय संरचनापछि गाउँगाउँमा सडक, स्वास्थ्य लगायत पूर्वाधार विकास विस्तार हुँदै गएको उल्लेख गरे। उनले गणतान्त्रिक व्यवस्थाले गरिब तथा विपन्न वर्गलाई आधारभूत सेवामा सहज पहुँच दिलाउन काम गरिरहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठ तथा वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङलगायतले मन्तव्य व्यक्त गरेका थिए। गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका जग्गादाता र निर्माण व्यवसायीलाई सम्मान पनि गरिएको थियो।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्