बाजुराको जगन्नाथ गाउँपालिकामा आयुर्वेद नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयअन्तर्गत जिल्ला आयुर्वेद बाजुराले सञ्चालन गर्ने गरी केन्द्र स्थापना गरी काम सुरु गरिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख रंगबहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जगन्नाथ पालिका अध्यक्ष कालीबहादुर शाहीले आरोग्य केन्द्र उद्घाटन गरे । नागरिक आरोग्य केन्द्रमा वैद्य र एक जना सहयोगी कर्मचारी रहने गाउँपालिकाले जनाएको छ ।

सेवा केन्द्रबाट निःशुल्क औषधी वितरण, बिरामी चेकजाँचलगायत सेवा सञ्चालन गरिनेछ । आरोग्य सेवा केन्द्रले गाउँपालिकाका ज्येष्ठ नागरिकलाई औषधी वितरण र स्तनपाई आमालाई दुग्धवतन औषधी वितरण गर्नेछ । कार्यालय स्थापनासँगै सेवा सञ्चालनमा आएपछि आयुर्वेद सेवा लिन सर्वसाधारणले जिल्ला धाउनुपर्ने बाध्यता हटेको गाउँपालिकाले बताएको छ । जिल्लाका अन्य केही पालिकामा योभन्दा पहिला आयुर्वेद नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएर सेवा सुरु गरिएको छ ।

पालिका प्रेस
थप जानकारी