हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३० करोडभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा उपमहानगरपालिकाले लक्ष्यको ५८ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ५२ करोड ७६ लाख ८० हजार रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा साउनदेखि वैशाखसम्मको अवधिमा ३० करोड ७० लाख ५३ हजार ८०३ रुपियाँ राजस्व संकलन भएको प्रशासन महाशाखा प्रमुख उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । उनका अनुसार एकीकृत सम्पत्ति करबाट सबैभन्दा बढी ६ करोड ९४ लाख ३४ हजार रुपियाँ संकलन भएको छ ।
त्यसैगरी घरबहाल करबाट ४ करोड ७१ लाख ५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट ३ करोड २४ लाख ४९ हजार, अन्य बिक्रीबाट ३ करोड ७१ लाख ३९ हजार र बहाल–बिटौरी करबाट २ करोड ५० लाख ६९ हजार रुपियाँ संकलन भएको छ । त्यस्तै सिफारिस दस्तुरबाट २ करोड ३८ लाख ५५ हजार, व्यवसाय करबाट २ करोड १७ लाख १४ हजार तथा नक्सापास दस्तुरबाट १ करोड ७६ लाख ८७ हजार रुपियाँ राजस्व उठेको उपमहानगरपालिकाले जनाएको छ । अन्य सेवा शुल्क तथा बिक्रीबाट ९२ लाख ५५ हजार, दहत्तर–बहत्तरबाट ४३ लाख ९४ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ३८ लाख ४८ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट ३५ लाख ७२ हजार, विद्युत सेवा शुल्कबाट १९ लाख ६५ हजार, अन्य दस्तुर १४ लाख ८४ हजार, मनोरञ्जन करबाट १ लाख २० हजार र विज्ञापन करबाट २४ लाख ५५ हजार रुपियाँ संकलन भएको छ ।
त्यस्तै शिक्षा क्षेत्रको आम्दानी ५ लाख ७७ हजार, भूमिकररमालपोतबाट ४ लाख ५६ हजार, सरकारी सम्पत्ति बहालबाट १ लाख ३६ हजार, न्यायिक दण्ड जरिवानाबाट ८६ हजार, व्यवसायबाट ६८ हजार, अन्य करबाट २७ हजार, व्यक्तिगत घटना दस्तुरबाट ८ हजार, न्यायिक दस्तुरबाट ६ हजार, परीक्षा शुल्क ४ हजार, निजी धाराबाट ३ हजार, नाता प्रमाणित दस्तुरबाट ३ हजार र साना सवारीबाट १ हजार रुपैयाँ राजस्व संकलन भएको उहाँले जानकारी दिए ।
उपमहानगरपालिकाले लक्ष्यअनुसार राजस्व संकलन नहुनुको कारण आर्थिक गतिविधि प्रभावित हुनु रहेको जनाएको छ । बाँकी अवधिमा लक्ष्यअनुसार राजस्व उठाउन नगर प्रहरी परिचालन गरी व्यवसाय दर्ता तथा कर तिर्न आग्रह गरिएको प्रशासन महाशाखा प्रमुख अर्यालले बताए । उनका अनुसार १९ वटै वडामा नगर प्रहरी परिचालन गरी करदातालाई समयमै कर तिर्न आग्रह गरिएको छ । कर तिर्न प्रोत्साहन गर्न माइकिङ, फोन तथा मोबाइल सन्देश पठाउने कार्य भइरहेको छ भने असल करदातालाई सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको छ ।
राजस्व संकलन बढाउन सहज र सुलभ सेवा प्रवाहमा विशेष जोड दिइएको तथा नगर प्रमुखसहितको घरदैलो अभियान सञ्चालन गर्ने तयारीसमेत गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्