मकवानपुरको मनहरी गाउँपालिकाले दुग्ध उत्पादक किसानबाट संकलित रकमलाई पुनः किसानकै हितमा लगानी गर्ने नीति अन्तर्गत मनहरी–३ स्थित नमुना कृषक बहुमुखी सहकारी संस्थालाई ३० केभिए क्षमताको जेनेरेटर सहयोग गरेको छ । गाउँपालिकाले करिब साँढे ७ लाख रुपैयाँ बराबरको जेनेरेटर हस्तान्तरण गरेपछि विद्युत अवरुद्ध हुँदा दूध भण्डारणमा हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सहकारीका अध्यक्ष लालबहादुर थापालाई जेनेरेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष अनन्तप्रकाश अर्यालसहित स्थानीय दुग्ध किसानहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कालाखेतीले किसानबाट संकलित दूध सुरक्षित राख्न चिस्यान केन्द्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विद्युत आपूर्ति अवरुद्ध हुँदा दूध बिग्रने जोखिम रहने भएकाले जेनेरेटर सहयोग गरिएको बताए । उनले गाउँपालिकाले किसानबाट दूध बिक्रीका आधारमा संकलित रकम पुनः किसानकै हितमा खर्च गर्ने नीति अवलम्बन गरेको स्पष्ट पारे ।

गाउँपालिकाले केही समयअघि दुग्ध किसानको भुक्तानी सुनिश्चित गर्ने उद्देश्यसहित सहकारीमार्फत दूध खरिद–बिक्री व्यवस्थापन सुरु गरेको थियो । त्यसयता किसानबाट प्रतिलिटर ५० पैसाका दरले रकम संकलन गर्दै ‘कृषि उपज खाता’ सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाका अनुसार हालसम्म खातामा करिब २५ लाख रुपैयाँ संकलन भइसकेको छ । संकलित रकम सहकारीको पूर्वाधार विकास तथा दुग्ध किसानको हितमा खर्च गर्ने लक्ष्य राखिएको जनाइएको छ । यसअघि जिल्ला सहकारी संघमार्फत दूध कारोबार हुँदा प्रतिलिटर ३ रुपैयाँसम्म कमिशन लाग्ने गरेकोमा अहिले व्यवस्थापन खर्च घटेर ५० पैसामा सीमित भएको गाउँपालिकाको दाबी छ । स्थानीय तहको प्रत्यक्ष समन्वयमा दूध संकलन र कारोबार प्रणाली सञ्चालन भएपछि किसानले तुलनात्मक रूपमा बढी प्रतिफल पाउन थालेको गाउँपालिकाको भनाइ छ ।

मनहरीमा सहकारीमार्फत दूध संकलन र नियमित भुक्तानी प्रणाली लागू भएपछि दुग्ध किसान उत्साहित बनेका छन् । गाउँपालिकाले दुग्ध उद्योगहरूसँग समन्वय गरी प्रत्येक १५ दिनमा किसानलाई भुक्तानी सुनिश्चित गरेको जनाएको छ । नियमित भुक्तानी प्रणालीले किसानको विश्वास बढाएको र पशुपालन व्यवसायप्रति आकर्षण पनि विस्तार भएको स्थानीयको भनाइ छ ।

पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका केही युवासमेत व्यवसायिक पशुपालनतर्फ आकर्षित हुन थालेपछि मनहरी क्षेत्रमा दूध उत्पादन वृद्धि भएको गाउँपालिकाले जनाएको छ । हाल मनहरीबाट दैनिक करिब १५ हजार लिटर दूध उत्पादन हुने गरेको तथ्यांक छ ।

पालिका प्रेस
थप जानकारी