तनहुँको व्यास नगरपालिकाले ‘ग’ वर्गको पहेंलो कार्ड प्राप्त अपांगता भएका व्यक्तिलाई प्रोत्साहन भत्ता वितरण गरेको छ । सरकारले पहेँलो कार्ड प्राप्त व्यक्तिलाई प्रोत्साहन रकम नदिने निर्णय गरे पनि व्यास नगरपालिकाले प्रोत्साहनस्वरूप यो भत्ता दिएको हो ।

नगरपालिकाले १४ वटै वडाका १८१ (ग) वर्गका अपांगता भएका व्यक्तिलाई सो भत्ता वितरण गरेको हो । नगरपालिका उपप्रमुख तथा नगरस्तरीय अपांगता समन्वय समिति संयोजक मिरा जोशीले प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको जानकारी दिइन् ।

‘क’ र ‘ख’ वर्गमा परेका व्यक्तिलाई सरकारले मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गरे पनि ‘ग’ वर्गलाई सुविधा प्रदान नगरेकाले नगरपालिकाको तर्फबाट प्रोत्साहनस्वरूप सहयोग गरिएको उपप्रमुख जोशीले बताइन् । नगरपालिका कोषबाट पहेंलो कार्ड प्राप्त अपांगता भएका व्यक्तिलाई वार्षिक ४ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेबमोजिम रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

शुक्रबारबाट १ देखि ४ नम्बर वडासम्मका ‘ग’ वर्गका पहेंलो कार्ड प्राप्त व्यक्तिलाई प्रोत्साहन रकम वितरण गर्न थालिएको व्यास नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख राधा वाग्लेले बताइन् । ‘सरकारले रातो र नीलो कार्ड प्राप्त व्यक्तिलाई मात्र प्रोत्साहन रकम दिने गरेको छ तर व्यास नगरपालिकाले पहेंलो कार्ड भएकालाई पनि रकम प्रदान गर्न बैठकबाट पारित गरेरै वितरण सुरु गरेको छ,’ उनले भनिन् ।

नगरपालिकाबाट १३३ जनाले पहेंलो कार्ड लिएका छन् भने शुक्रबार १९ जनालाई प्रतिव्यक्ति वार्षिक २ हजार ५ सय रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गर्न थालिएको व्यास नगरपालिका महिला तथा बालबालिका शाखाका कार्यालय सहायक मुना तामाङले बताइन् ।

पालिका प्रेस
थप जानकारी