मकवानपुरका दश मध्ये दुई स्थानीय तहले खानेपानी व्यवस्थापनमा अपनाएको ‘बोर्ड मोडल’तर्फ अन्य स्थानीय तहहरु पनि आकर्षित भएका छन् । नेपाल सरकार साविक खानेपानी मन्त्रालय अन्तर्गत गठन भएको हेटौंडा खानेपानी व्यवस्थापन र स्थानीय तह थाहा नगरपालिका अन्तर्गत गठन भएको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डको अनुशरण गर्दै अरु पालिकाहरुले ‘बोर्ड मोडल’ अपनाउन थालेका हुन् । जिल्लाका अन्य पालिकाले आर्थिेक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा खानेपानी व्यवस्थापनलाई ‘बोर्ड मोडल’ अपनाउने नीति लिएका छन् ।

मकवानपुरको दुर्गम कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ मा खानेपानी तथा सरसफाई सम्बन्धी कार्यलाई बोर्ड मार्फत अघि बढाउने नीति लिएको छ । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत निर्माणाधीन खानेपानी आयोजना सम्पन्न गरी हस्तान्तरण गर्ने कैलाशको नीति छ । पालिकाको नीतिमा भनिएको छ–‘योजनाको दिगो व्यवस्थापनका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डलाई क्रियाशील बनाइनेछ ।’

पालिकाले, एनवास एमआइएस प्रणालीमा आधारित खानेपानी तथा सरसफाई स्वच्छता योजना अद्यावधिक गर्ने, खानेपानी गुरुयोजना बनाउने कैलाश गाउँपालिकाले नीति लिएको छ । विद्युतमा आधारित खानेपानीलाई सहुलियत प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । पालिकाले पिउने पानीको गुणस्तर सुनिश्चित गर्न नियमित रूपमा पानी परीक्षण कार्यलाई संस्थागत गर्ने तथा मर्मत कोषको प्रभावकारी परिचालन गर्ने नीति छ । ‘पूर्ण सरसफाइ उन्मुख पालिका घोषणा’का लागि स्रोतमा फोहोर वर्गीकरणलाई प्रोत्साहन गर्दै सार्वजनिक स्थल, विद्यालय तथा स्वास्थ्य संस्थामा अपाङ्गता तथा बालमैत्री शौचालय निर्माण तथा मर्मत गर्ने पालिकाले नीति लिएको छ ।

थाहा नगरपालिका स्थित खानेपानी संरचना ।

जिल्लाको राक्सिराङ गाउँपालिकाले समग्र खानेपानी तथा सरसफाई सम्बन्धी कार्य गर्नका लागि खानेपानी बोर्ड गठनको नीति अघि सारेको छ । आर्थिक वर्ष २०८३/०८४ मा खानेपानी आयोजनाको दिगो व्यवस्थापन र समुदायमा आधारित विकास व्यवस्थापननका लागि खानेपानी बोर्ड गठन गर्ने नीति लिएको छ । बोर्ड मार्फत खानेपानी सेवा व्यवस्थापनका साथै मुहान संरक्षण र सरसफाईका कार्यक्रम सञ्चालन गर्ने गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

मकवानपुरगढी गाउँपालिकाले पनि खानेपानी बोर्ड गठन गर्ने नीति गाउँसभाबाट पारित गरेको छ । खानेपानी तथा सरसफाईलाई मानव अधिकारको रुपमा स्थापित गर्दै सुरक्षित खानेपानीका लागि ‘एक घर, एक धारा’ र फोहोर व्यवस्थापन र स्वच्छता अभियान सञ्चालन गर्ने पालिकाको नीति छ । वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ–‘गाउँपालिकामा खानेपानी बोर्ड गठन गरी गाउँपालिका भित्रका खानेपानी उपभोक्ता समितिलाई बोर्डमा आवद्ध गराई नियमित खानेपानी वितरणको व्यवस्था गरिनेछ ।’

जिल्लाको तीन वटा पालिकाले खानेपानी व्यवस्थापनका लागि ‘बोर्ड मोडल’ अपनाउने नीति लिइरहेको बेला थाहा नगरपालिकाले भने वि.सं. २०७६ सालमै ऐन पारित गरी खानेपानी तथा सरसफाई सम्बन्धी व्यवस्थापकीय कार्य बोर्ड मार्फत गर्दै आएको बोर्डका अध्यक्ष तथा नगर प्रमुख विष्णु बहादुर विष्टले बताए । खानेपानी तथा सरसफाईका कार्यलाई एकद्वारा प्रणालीबाट सञ्चालन गर्न बोर्ड गठनले सहयोग पुगेको विष्टले बताए ।

‘खानेपानी सेवा पालिकाको अभिभारा, मिटरसहितको एक घर एक धारा’ नीतिलाई निरन्तरता दिने थाहा नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा उल्लेख छ । पालिकाले एनवासमा खानेपानी तथा सरसफाईको तथ्याङ्क अद्यावधिक गर्ने, खानेपानी सेवालाई एकीकृत र एकद्वार प्रणालीबाट सञ्चालन गर्ने, योजनाहरुको कार्यान्वयन, खानेपानी समितिहरु, दर्ता, नवीकरण, अनुगमन तथा नियमन बोर्डमार्फत् नै गर्ने नीति लिएको छ । विपद व्यवस्थापन कोष स्थापना गर्ने, खानेपानी पूर्वाधार बीमाको संभावनाको खोजी गर्ने तथा गुणस्तरीय खानेपानी सुनिश्चितताको लागि खानेपानी परीक्षण कार्यलाई निरन्तरता दिदै आफ्नै खानेपानी परीक्षण प्रयोगशाला स्थापनाका गर्ने नीति थाहानगरले लिएको छ ।

मकवानपुर जिल्लामै स्थानीय तह मार्फत सञ्चालन भएको खानेपानी तथा सरसफाई सम्बन्धी ‘बोर्ड मोडल’ थाहानगरको पहिलो हो । थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डले अहिले थाहाको १, २, ३, ४, ८, ११ र १२ नम्बर वडाका विभिन्न खानेपानी आयोजनाको सञ्चालन व्यवस्थापन गर्दै आएको छ । खानेपानी र सरसफाईका कार्यलाई सँगसँगै लैजाने बोर्डका प्रशासकीय अधिकृत सुरज भुजेलले जानकारी दिए ।

समुदायमा खानेपानी तथा सरसफाई समुदायकै सहभागितामा सञ्चालन गर्दा दिगो र व्यवस्थित हुने भएकोले बोर्डले जनशक्ति व्यवस्थापनसहित कार्य गर्दै आइरहेको कार्यकारी निर्देशक शकुन्तला गुरुङले जानकारी दिइन् । उपभोक्ता समितिलाई समन्वय समितिको रुपमा सक्रिय गराउने र बोर्डले एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्ने नगरपालिकाको नीति अनुसार बोर्डले काम गर्दा प्रभावकारी भएको गुरुङको भनाइ छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको कार्यालय ।

मकवानपुरकै ‘बोर्ड मोडल’मा जेठो हेटौंडा उपमहानगरपालिका स्थित हेटौंडा खानेपानी बोर्ड मार्फत नै हेटौंडामा खानेपानी सेवा विस्तार भइरहेको छ । नेपाल खानेपानी संस्थानले सेवा प्रवाह गर्दै आएको हेटौंडामा वि.सं. २०६४ बाट ‘बोर्ड मोडल’बाट सेवा प्रवाह गर्दै आएको हो । हेटौंडा उपमहानगरले पनि बोर्डसँग सहकार्य गर्दै खानेपानी सेवा प्रवाह गर्दै आएको छ ।

हेटौंडाले आर्थिक वर्ष २०८३/०८४ का लागि पारित गरेको वार्षिक नीति तथा कार्यक्रममा पनि हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी उपभोक्ता समितिसँगको समन्वयमा सुरक्षित र गुणस्तरीय खानेपानी सेवा सर्वसुलभ रुपमा उपलब्ध उल्लेख छ । परम्परागत पोखरी, ढुङ्गेधारा र मूलहरुको संरक्षण, भूमिगत पानी पुनर्भरण हुने क्षेत्र पहिचान, नक्साङ्कन, एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यान्वयन संघीय सरकारसँगको समन्वय तथा सहजीकरणमा गर्ने नगरपालिकाको पारित नीति तथा कार्यक्रममा उल्लेख छ ।

नेपालमै खानेपानी व्यवस्थापनमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड अब्बल छ । बोर्डका अध्यक्ष प्रताप विष्ट तथा उनको टिमले स्थायी, सुरक्षित र गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्न दीर्घकालीन योजना निर्माण गरेरै पूर्वाधार र खानेपानी सेवा विस्तार सम्बन्धी कार्य गरिरहेको छ । देशका धेरै शहरमा सुख्खा यामसँगै खानेपानीको समस्या देखिने गरे पनि हेटौंडा उपमहानगरपालिका खानेपानी बोर्डले यो कठिनाइ नआउने गरी काम गरिरहेको अध्यक्ष विष्टले बताए ।

खानेपानी व्यवस्थापन बोर्डले सेवा विस्तार गरेका क्षेत्रमा नियमित रूपमा खानेपानी वितरण भइरहेको छ । हावाहुरीका कारण विद्युत आपूर्ति अवरुद्ध हुँदा पम्पिङ प्रणालीमा आधारित केही स्थानमा अल्पकालीन समस्या देखिए पनि समग्र नगर क्षेत्रमा खानेपानी आपूर्ति सहज रहेको बोर्डका सूचना अधिकारी संजय कुमार न्यौपानेले बताए ।

जिल्लाको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि खानेपानी सरसफाई तथा स्व्च्छता प्रणाली (एनवास) व्यवस्थित गर्ने नीति लिएको छ । बृहत खानेपानीका लागि सोलार जस्ता बैकल्पिक उर्जालाई प्राथमिकता दिने मनहरीले नीति लिएको छ । खानेपानी स्रोतका मुहान संरक्षण, ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्ने पालिकाद्वारा पारित नीतिमा उल्लेख गरिएको छ ।

खानेपानी संस्स्थाहरुसँगको सहकार्यलाई निरन्तरता दिने बकैया गाउँपालिकाको पारित नीति तथा कार्यक्रममा उल्लेख छ । बकैयाले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वच्छ खानेपानी माथिको पहुँच सुनिश्चितताको लागि वास प्लानको आधारमा स्रोतहरु पहिचान गरी योजना सञ्चालन गर्दै ‘एक घर, एक धारा’ नीतिलाई निरन्तरता दिने नीति लिएको छ ।

मकवानपुरकै बागमती गाउँपालिकाले सुनौलो हजार दिनका परिवारलाई स्वच्छ र सफा खानेपानीको व्यवस्था मिलाउने नीति लिएको छ । खानेपानी मुहानको संरक्षण एवं संवद्र्धन गर्दै खानेपानीको परीक्षण गर्ने व्यवस्था मिलाउने, सफा खानेपानी उपलब्ध गराउने व्यवस्था गर्ने बागमती गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । खानेपानी, सरसफाई तथा स्वच्छता योजना तर्जुमा गर्ने, खानेपानीको सहज पहुँच स्थापित गर्न विभिन्न गैरसरकारी संघ–संस्थाहरुसँग सहकार्य एवं साझेदारी गर्ने, खानेपानी आयोजनाहरुको नियमित मर्मत–संम्भार गरी व्यवस्थित ढंगबाट संचालन गर्ने बागमतीको नीति छ । ‘हाम्रो पानी, हाम्रो योजनाः समृद्ध बागमतीको सपना’, ‘शुद्ध पानी, दिगो विकासः बागमती गाउँपालिकाको विश्वास’ भन्ने नारालाई सार्थक तुल्याउने पारित नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

भिमफेदी गाउँपालिकाले सम्पूर्ण गाउँपालिकावासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने कार्यलाई विशेष प्राथमिकता दिने नीति पारित गरेको छ । आवश्यकता र सम्भाव्यताका आधारमा ठूला, मझौला र साना खानेपानी आयोजना सञ्चालन गर्ने आर्थिक वर्ष २०८३/०८४ को पारित नीतिमा लेखिएको छ । खानेपानीको समस्या रहेका विभिन्न क्षेत्रहरूमा प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा खानेपानी आयोजना सम्पन्न गर्ने, खानेपानीको मुहान संरक्षण तथा खानेपानीको आवश्यक मर्मत सम्भारको लागि आवश्यक बजेट विनियोजन गर्ने कार्यलाई निरन्तरता दिने भिमफेदीको नीतिमा उल्लेख छ ।

मकवानपुरकै कम क्षेत्रफल भएको सानो पालिका इन्द्रसरोवर गाउँपालिकाले खानेपानी तथा सरसफाईलाई दुई बुँदे नीति लिएको छ । इन्द्रसरोवरले आर्थिक वर्ष २०८३/०८४ का लागि सुरक्षित खानेपानीमा सबैको पहुँच विस्तार गर्ने तथा फोहोरमैला व्यवस्थापन र सरसफाई अभियान सञ्चालन गर्ने नीति लिएको हो ।

पालिका प्रेस
थप जानकारी