मकवानपुरको बागमती गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल संचालनमा आएको छ । बागमती गाउँपालिका–५ मा १८ करोड लागतमा निर्माण गरिएको सहिद स्मृति आधारभूत अस्पतालले शुक्रबारदेखि विरामीको स्वास्थ्य परीक्षण गर्न थालेको हो । तीन वर्षअघि निर्माण सुरु भएको भवनको हालै निर्माण सम्पन्न भएपछि सहिद स्मृति आधारभूत अस्पताल संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए ।
१५ शय्या रहेको उक्त अस्पतालमा सुत्केरी सेवा, आँखा परीक्षण, दन्त सेवा, बहिरंग सेवा, खोप सेवालगायत भिडियो एक्सरे, प्रयोगशालासमेतको सुविधा रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश गुप्ताले बताए । हेटौंडाबाट करिब ६० किलोमिटर दुरीमा रहेको अस्पतालमा चिकित्सकसहित १५ जना स्वास्थ्यकर्मी रहेका छन् । यो अस्पताल छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी र काभ्रेको महाभारत गाउँपालिका बासिन्दालाई पनि पायक पर्ने गुप्ताले बताए ।
संघीय सरकारको लगानीमा करिब १८ करोडको लागतमा डेढ विघा जमिनमा निर्माण गरिएको यो अस्पताल भवन निर्माणको कार्य तीन वर्षअघि सुरु गरिएको थियो । ९ वटा वडामा विभाजित बागमती गाउँपालिकाका सबै वडामा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्