हेटौंडा उपमहानगरपालिका–९, स्थित प्रगति माध्यमिक विद्यालयले स्वर्णजयन्ती महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको छ । १३ भाद्रमा विद्यालयमा एक कार्यक्रमकाबीच गत पुस २६ गतेदेखि माघ ९ गतेसम्म आयोजित स्वर्ण महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको हो । विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार स्वर्ण महोत्सवबाट २१ लाख रुपैयाँ भन्दा बढी बचत भएको छ । विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीकाअनुसार महोत्सव सम्पन्न गर्न विभिन्न स्रोतबाट कुल ४८ लाख १८ हजार ३४६ रुपैयाँ प्राप्त भएकोमा विविध शीर्षकमा कुल २७ लाख ४ हजार ७१९ रुपैयाँ खर्च भई २१ लाख १३ हजार ६२७ रुपैयाँ बचत भएको छ । यसमध्ये प्रगति अक्षयकोषमा ९ लाख ४५ हजार ७८१ रुपैयाँ जम्मा भएको उनले बताए । प्रधानाध्यापक पराजुलीका अनुसार आम्दानीतर्फ सबै भन्दा बढी व्यक्तिगत सहयोगतर्फ २८ लाख २ हजार ६३ रुपैयाँ प्राप्त भएको छ ।

यस्तै संस्थागत सहयोग (टोलविकास तथा अन्य संस्था) बाट ३ लाख ४८ हजार ६३०, प्रगति अक्षय कोष सहयोग ९ लाख ४५ हजार ७८१, स्मारिका विज्ञापनबाट १ लाख ८९ हजार ८ सय, हेटौंडा–८ र १४ नम्बर वडा कार्यालयबाट (विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. राधादेवी शाहको प्रतिमा निर्माण) का लागि क्रमश १ लाख ४७ हजार ७५० र १ लाख ९७ हजार तथा वडा नम्बर ९ बाट (स्वर्णस्तम्भ निर्माण अनुदान) का लागि १ लाख ८७ हजार ३२२ रुपैयाँ संकलन भएको उनले बताए । यसबाहेक महोत्सवको अवसरमा विद्यालयलाई विभिन्न संघसंस्थाबाट ३ लाख २० हजार ५५० रुपैयाँ बराबरको जिन्सी सामग्री प्राप्त भएको पराजुलीले जानकारी दिएका छन् ।

यस्तै महोत्सव सम्पन्न गर्न खर्चतर्फ कुल २७ लाख ४ हजार ७१९ रुपैयाँमध्ये स्वर्ण जयन्ती स्तम्भ तथा स्व.राधादेवी शाहको प्रतिमा निर्माणका लागि ९ लाख ८३ हजार ६५९ रुपैयाँ, सम्मान तथा पुरस्कार तर्फ ४ लाख ६२ हजार ३८१, प्रगति स्वर्ण स्मारिका निर्माणमा ३ लाख ५ हजार एकसय, मञ्च व्यवस्थापन तथा साउण्ड सिस्टमका लागि १ लाख ३६ हजार ३६५ रुपैयाँ खर्च भएको प्रधानाध्यापक पराजुलीले जानकारी दिए । त्यस्तै खर्चतर्फ नै सर स्वती पूजा तथा खाना–खाजातर्फ २ लाख ५९ हजार ३१०, जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता, साहित्य उत्सव, शिक्षक सम्मेलनमा क्रमश १८ हजार, २२ हजार ४ सय र एक हजार २ सय, स्टेशनरी तथा शैक्षिक प्रदर्शनीमा लागि ७५ हजार १३५ र सञ्चार खर्च १६ हजार १६० रुपैयाँ खर्च भएको उनले बताए ।

यस्तै रङरोगन ज्याला, फोटा, भिडियो तथा विद्यालयको वृत्तचित्र, विद्यालय गीत निर्माण, फर्निचर खरिद, पर्दा खरिद तथा फिटिङ, विद्यार्थी खेलकुद प्रतियोगिता खर्च, स्काउट तालिम खर्च, बाजा तथा नृत्य समूह पारि श्रमिक, विद्युत तथा खानेपानी मर्मतलगायत विविध शीर्षकमा खर्च भएको प्रधानाध्यापक पराजुलीले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेले स्वर्ण जयन्ती समारोहलाई भव्यरुपमा सफल बनाउन स्थानीय राजनैतिक दल, शिक्षक कर्मचारी, विद्यालयका पूर्वविद्यार्थी, अभिभावक तथा शुभचिन्तकको योगदान रहेको बताए । उनले महोत्सव सम्पन्न गर्न योगदान गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गरे ।

पालिका प्रेस
थप जानकारी