विगतका वर्षहरु झैं यसवर्ष पनि थाहानगरमा गाईजात्रा निकालिएको छ । नेवा सांस्कृतिक पुचः हेटौंडाको आयोजनामा लाखे नाच, नेवारी बाजासहित सामूहिक गाईजात्रा निकालिएको हो । थाहा नगरको पालुङ, गोपालीगाउँ, बज्रवाराही, चित्लाङलगायतका स्थानहरुमा गाइजात्रा निकालिएको हो ।
एक वर्षभित्र दिवम्गत भएका आफन्तको सम्झनामा परिवारले गाई वा मानिसलाई गाईकारुपमा सिँगारी नगरपरिक्रमा गराउने प्रचलन नेवारी समुदायमा रहेको छ । गाईजात्रा पर्वका अवसरमा वागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मनशान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरुप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भादद्र कृष्णअष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृतव्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरु पनि गाइन्छ ।













































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्