हरेक वर्ष तीजको अबसरमा दरसहित सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको मनहरी गाउँपालिकामा महिलाद्वारा सञ्चालित दिब्यज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस वर्ष दरसहितको सांस्कृतिक कार्यक्रम रद्द गरेको छ । उक्त कार्यक्रम रद्द हुँदा बचत हुने रकममा थपथाप गरेर सहकारीले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । संस्थाकी अध्यक्ष सुजिता थापाका अनुसार सहकारीले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कनेक्ट आइपिएसमार्फत १ लाख १ हजार रुपियाँ जम्मा गरिदिएको छ ।
यसअघि सहकारीले भदौ २१ गते मनहरी गाउँपालिका ७ स्थित मनकामना मन्दिर परिसरमा दरखाने कार्यक्रमसहित सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । बाढीका घटनापछि उक्त कार्यक्रम स्थगन गरिएको सहकारीले जनाएको छ ।
देशलाई आपत परेका बेला दिदीबहिनीहरुले नाचगान गरेर रमाउने भन्दा पनि सहयोग गर्ने कुरा प्रमुख हो भन्ने उद्देश्यले सहकारीले यस्तो निर्णय गरेको पूर्वअध्यक्ष विमला गोपालीले बताइन् । मनहरी गाउँपालिकामा विभिन्न व्यक्ति, संस्था, वन समूहहरु लगायतले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने क्रम जारी नै छ ।
भदौ १० गते चीनको ल्हेन्दे खोलमा आएको बाढी नेपालको भोटेकोशीमा मिसिएपछि रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म त्यसको असर परेको थियो । यो बाढीले रसुवा, बेत्रावती, देविघाट, टिमुरे, स्याफ्रुबेसी, नुवाकोटमा असर पारेको छ । हजारौँ मानिस बेघरबार बनेका छन् भने हजारौँ मानिस बेपत्ता छन् । एक हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको पुष्टि भइसकेको छ ।













































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्