खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तु काठमाडौं भित्रिने ‘लाइफ लाइन’ मार्ग पृथ्वी राजभार्गअन्तर्गतको कृष्णभिरमा पहिरो खसेसँगै स्थिति निकै नाजुक बनेको छ । दैनिक उपभोग्य वस्तु ग्यास, तेल, नुनसँगै खाद्यान्न, दाल चामल, चिनीको आपूर्ति निकै सकसपूर्ण बनेको छ ।
तथापि, दसैँतिहारको मुखमा बजारमा उपभोग्य वस्तुको हाहाकार नै चल्दैगर्दा जेनतेन काठमाडौं उपत्यकाको दैनिकी वैकल्पिक मार्ग ‘हेटौँडा–भिमफेदी’ बाइरोड (त्रिभुवन राजपथ) ले काठमाडौंको आपूर्ति धानिरहेको छ । आजभोलि दैनिक हजारौँ मालवाहक गाडीहरू यही मार्ग हुँदै काठमाडौं भित्रिरहेका छन् । अभावकै बीच पछिल्लो तीन दिनमा ८७ हजार ८७७ सिलिन्डर खाना पकाउने एलपी ग्यास यही त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिएको नेपाल आयाल निगमले जनाएको छ । थप, ग्यास, तेलसहित अत्यावश्यक खाद्यान्न दाल, चामल, नुन तेल समेत यही मार्ग हुँदै काठमाडौं भित्र्याउन बाध्य भएको व्यवसायीहरूको भनाइ छ ।
तर, सानो र साघुँरो बाटोकै कारण मालवस्तु आपूर्तिका लागि त्रिभुवन राजपथ उती सहज भने छैन । साना ढुवानीका साधन प्रयोग गर्नुपर्दा ढुवानी लागत दोब्बर लाग्ने स्थिति बनेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यको भनाइ छ । उनले भने, ‘बर्दिबासको बाटो ढुवानीका लागि सहज छैन, कृष्णभिरको विकल्पमा हेटौँडा–भिमफेदी (त्रिभुवन राजपथ) नै अहिलेको एक मात्र विकल्प हो । यो रुट पनि निकै सानो साघुँरो हुँदा ठूला गाडीहरू ल्याउन सकिएको छैन । साना ढुवानीका साधनहरू प्रयोग गर्नुपर्दा ढुवानी लागत दोब्बर बढेको स्थिति छ ।’
यसैगरी सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी निमित्त प्रमुख कार्यकारी अधिकृत सर्मिला न्यौपाने सुवेदीले पनि कृष्णभिरको पैरोले आपूर्ति व्यवस्थामा समस्या पारेको र विकल्पमा त्रिभुवन राजपथको प्रयोग गर्नु परेको उनले गुनासो गरिन् । तर, सानो र साघुँरो बाटोकै कारण ढुवानी खर्च र समय बढी लागिरहेको उनीले बताइन् ।

त्रिभुवन राजपथ एसियाली राजमार्ग अन्तर्गतकै एक पुरानो र एतिहासिक राजमार्गमा पर्छ, जुन सन् १९५३ मा भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको थियो । काठमाडौंको चन्द्रागिरीदेखि हेटौँडा–वीरगञ्जसम्म कुल १८९ किलोमिटर लम्बाइमा रहेको यस राजमार्ग नेपालकै पहिलो राजमार्ग मानिन्छ । खासगरी मुलुकमा २००७ सालमा प्रजातन्त्रको उदय भएसँगै २००८ सालमा नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले राजा त्रिभुवनसँग सडक बनाइदिने बचन दिएका थिए ।
सोही बचन अनुसार ७ फागुन, २००९ देखि त्रिभुवन राजपथको निर्माण कार्य शुरु गरिएको थियो भने तीन वर्षपछि २०१२ मा यो राजपथको निर्माण सम्पन्न गरिएको थियो । भारतीय सेनाका रिटायर्ड कर्णेल ग्रान्टको नेतृत्वमा आएका सैनिक इन्जिनियरहरूको टोलीले काठमाडौंको चन्द्रागिरिदेखि मकवानपुरको भैंसेसम्म १२७ किलोमिटरको दुरीलाई तीन भागमा विभाजन गरेर निर्माण शुरु गरिएको थियो ।
पछि ललितपुरको सातदोबाटोदेखि हेटौँडासम्म जोड्ने गरी ९२ किलोमिटरको कान्ति लोकपथ बन्यो । सन् २०२६ मा नेपाली सेनाले बनाएको यो लोकपथसँग त्रिभुवन राजपथ जोडिएपछि यसलाई कान्ति लोकपथको रुपमा समेत बुझिने गरिन्छ । यो पुरानो राजपथ दक्षिण भारतको रक्सौलसम्म काठडमौंलाई जोड्ने छिटो र छोटो दुरीका रुपमा लिइन्छ । तर, सानो र साघुँरो बाटोकै कारण यसलाई ठूला मालवाहक सवारी साधन गुडाउन उती सहज मानिदैन । यसमाथि बर्खायाममा पहिरोका कारण यो राजपथ समय समयमा अवरोरुद्ध हुँदैआएको छ । तर, पछिल्लो पटक रसवाको भोटेकोसी बाढीका कारण तल्लो तटीय क्षेत्र समेत प्रभावित बन्दा पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभिरमा पहिलो खसेको छ । सडकको कुनासम्मै बग्ने गरी पहिलो खसेपछि यस सडक खण्ड पूर्णरुपमा अवरुद्ध बन्न पुगेको छ ।
पृथ्वी राजमार्ग अवरुद्ध बन्दा वैकल्पिक मार्गको रुपमा यतिबेला काठमाडौं–भिमफेदी त्रिभुवन राजपथ नै उपयुक्त विकल्प बन्न पुगेको छ । यही मार्ग हुँदै दैनिक हजारौँ सवारी सधान काठमाडौं भित्रिरहेका छन् । जहाँबाट अत्यावश्वेक ग्यास, तेलसँगै दैनिक उपभोग्य मालवस्तु काठमाण्डौं आपूर्ति भइरहेको छ ।















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्