चितवनको भरतपुर महानगरले महानगरभित्रका ६९२ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो ।

महानगरले एक विद्यार्थीलाई ३ हजारका दरले २० लाख ७६ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ विद्यालयका २४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले ती विद्यालयका २४० विद्यार्थीलाई रकम हस्तान्तरण गरे । लोपोन्मुख तथा अति सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक विकास सहज होस् भन्ने उद्देश्यका साथ महानगरले पहिलो पटक नगद छात्रवृत्ति बाँडेको हो ।

महानगरको कुल बजेटबाट १५ प्रतिशत रकम शिक्षामा लगानी गरेको शिक्षा शाखा प्रमुख महेन्द्र पौडेलले बताए । विद्यालयको भैतिक पूर्वाधार विकास, पाठ्य सामग्रीको प्रवद्र्धनदेखि विद्यार्थीका लागि छात्रवृत्ति, दिवा खाजा कार्यक्रम, स्कुल बस वितरण, साइकल वितरणलगायत अरू धेरै भौतिक तथा आर्थिक सहयोग गरिएको उनको भनाइ छ । महानगरभित्र शिक्षाको विकासमा सुरु चरणदेखि नै विशेष अभियान थालेको र त्यसले विस्तारै पूर्णता पाउँदै गएको उपप्रमुख शाहले बताइन् । छात्रवृत्ति वितरण गर्न बाँकी विद्यालयका विद्यार्थीका लागि प्रदान गरिने रकम बैंकमार्फत विद्यालयको खातामा पठाइएको महाशाखाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी