खोटाङको रावाबेँसी गाउँपालिका वडा नम्बर –२ खार्पास्थित रावा क्याम्पस खार्पाले बुहारी र छोरी पढाउने सासू र आमालाई सम्मान गरेको छ । बुहारी पूजा गिरीलाई क्याम्पस पढाउने हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० अर्खौलेकी देवीमाया पुरी र छोरी रञ्जना श्रेष्ठलाई पढाउने खार्पाकी विष्णुकुमारी श्रेष्ठलाई सम्मान गरिएको हो ।

बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउन लागिपरेका सासू र आमालाई क्याम्पसको १४औँ वार्षिकोत्सव अवसरमा सोमबार जनही १ हजार ५०० रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो । बुहारी पूजा रावा क्याम्पस खार्पामा बीएड तेस्रो वर्ष र छोरी रञ्जना बीएड दोस्रो वर्षमा अध्ययनरत छन् ।   बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउन प्रयत्न गरेका सासू र आमालाई प्रोत्साहनस्वरूप सम्मान गरिएको रावा क्याम्पस खार्पाका प्रमुख दीपक पोखरेलले बताए ।

क्याम्पसको वार्षिकोत्सव अवसरमा कृषि अर्गानिक खेती चुनौतीको विषयमा माविस्तरीय वक्तृत्वकला, पुरुष हन्डिफोर, महिला फुक्की बललगायत कार्यक्रम आयोजना गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा रावाबेंसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाको सभापतित्व एवं क्याम्पस संरक्षक समिति संयोजक हरि पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

पालिका प्रेस
थप जानकारी