eQmk'/, @( dªl;/ -/f;;_ M dWok'/lyld gu/kflnsf4f/f ;~rflnt g]kfn sf]l/of d}qL gu/kflnsf c:ktfnn] ef]nL k'; ! ut]b]lv ;~rfng x'g] ul/ cfkmgf gful/ssf nflu pkrf/df %) k|ltzt;Ddsf] ljz]if 5'6 Kofs]h ;fj{hlgs ub}{ gu/ k|d'v dbg;'Gb/ >]i7 . tl:j/ M /d]z lu/L, /f;;

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आफ्ना नागरिकका लागि उपचारमा ५० प्रतिशतसम्मको विशेष छुट प्याकेज सार्वजनिक गरेको छ । अस्पतालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले अस्पतालमा बीमा सेवा बन्द भएकाले आफ्ना नगरवासीका लागि उपचारमा ५० प्रतिशतसम्म छुटको प्याकेज ल्याएको बताए ।

‘बीमाको रकम नदिएपछि बन्द भएको बीमा सेवाका कारण नगरवासीलाई समस्या परेको हामीले महसुस गरेका छौँ, त्यसैले मध्यपुरथिमिका बासिन्दालाई टिकटदेखि उपचारसम्म विशेष छुटको प्याकेज ल्याएका हौँ’, उनले भने, ‘मध्यपुरथिमिवासी ८० वर्ष नाघेकालाई ५० प्रतिशत, ७० वर्ष नाघेकालाई २५ प्रतिशत र त्यसभन्दा तल उमेरकालाई स्वास्थ्य सेवामा १० प्रतिशत छुट दिने निर्णय गरेका छौँ ।’ अस्पतालले विशेष छुट प्याकेज भोलि पुस १ गतेदेखि नै लागू गर्ने भएको छ ।

टिकटमा समेत छुट दिने व्यवस्था गरेको भन्दै उनले विगतमा बिरामीले नयाँ टिकट लिन  ४०० रुपैयाँ लाग्नेमा त्यसलाई घटाएर भोलि १ गतेदेखि  १२५ कायम गरिएको र पुरानो कार्ड भएकालाई  ७५ मात्रै शुल्क निर्धारण गरिएको बताउनुभयो । स्वास्थ्य बीमा बोर्डबाट ९ करोडको भुक्तानी लिन बाँकी भएपछि अस्पतालले गत असोज २९ गतेदेखि बीमा सेवा बन्द गरेको थियो । बीमा बोर्डमा पटकपटक ताकेता गर्दा बल्ल ३ करोड निकासा भए पनि अस्पतालले अझै ६  करोड पाउनुपर्ने रकम नपाउँदा बीमा सेवा पुनः सुरु गर्न सकेको छैन । अस्पतालले पुनः स्वास्थ्य बीमा सेवा सुरु नगरेसम्म आज घोषणा गरिएको विशेष छुट प्याकेजलाई यथावत् राख्ने भएको छ ।

त्यसैगरी अस्पातालले बिहान र अपराह्न सुविधायुक्त सेवा लिन प्राइभेट सेवासमेत सञ्चालनमा ल्याएको छ । पछिल्लो समय बिहान र दिउँसो ३ बजेपछि अधिकांश सरकारी अस्पतालले निजी क्लिनिक सञ्चालन गर्दै आए पनि यस अस्पतालले भने भोलिदेखि मात्रै निजी स्वास्थ्य सेवासमेत दिने भएको छ ।

यसका लागि अस्पतालले बिहान ८ बजेदेखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म्म निजी स्वास्थ्य अर्थात प्राइभेट सेवाका लागि नयाँ बिरामीको नाम दर्ताका लागि  ४५० र पुरानो नाम दर्ताका लागि  ४०० शुल्कमा टिकट लिएर ओपिडी सेवा लिन सक्ने व्यवस्था गरेको अस्पतालका निर्देशक डा ज्ञानकृष्ण श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा अस्पतालका उपनिर्देशक डा सम्पूर्णमान तुलाधरले अस्पतालले दिने सेवा सुविधामा अझै गुणस्तर वृद्धि गरेको जानकारी दिँदै निजी अस्पतालभन्दा धेरै सस्तो र सुलभ तथा गुणस्तरीय सेवा अस्पतालले सञ्चालन गरेको बताए ।