कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । तीनै तहका सरकारले कृषि क्षेत्रलाई  प्राथमिकतामा राखेका छन् । झापाको कनकाई नगरपालिकाले पनि कृषि क्षेत्रको दिगो विकास गर्न किसानमैत्री योजना र नीति बनाएको छ । कृषिबाटै नागरिकलाई समृद्ध बनाउन नगरपालिकाले लिएको नीतिकै कारण पालिकाबासी कृषि उत्पादनमा लागेर आत्मनिर्भर हुँदै गएका छन् ।

झापाको कनकाई नगरपालिकाको माटो बलौटे प्रकारको छ । यहाँ धान, मकै, गहुँ, तोरी र जौ उत्पादन हुन्छ । कोदो, फापर र मुुसुरी दाल पनि यहाँको उत्पादनमध्येको प्रमुख हो । जनप्रतिनिधि आउनुअघि कृषक आवश्यक उन्नत बिउबिजन र बाली उत्पादनबारे जानकार थिएनन् । नयाँ कृषि प्रविधि अभाव थियो । सिँचाइको कमी मात्र नभई उत्पादन बिक्रीका लागि कृषि संकलन केन्द्र पनि थिएनन् । यिनै समस्या  अन्त्य गरी कृषिबाटै समृद्ध हासिल गर्ने सोच बनाएका जनप्रतिनिधिकै कारण कनकाईको कृषि क्षेत्र उकासिँदै गएको छ । नगरले कनकाईलाई धान, मकै र तेलमा आत्मनिर्भर हुने लक्ष्य लिएर काम गरिरहेको छ ।  निर्वाहमुखी नभई व्यावासायिक बनेर आत्मनिर्भर बन्ने क्रममा कृषक पुगेका छन् । नगरपालिकाले गरेको लगानीले लाभ मिलेको वडा नम्बर ५ का किसान कृष्णप्रसाद दाहाल बताउँछन् ।

नगरपालिकाले युवा लक्षित कृषि कार्यक्रम सञ्चालन गरेर कृषकसँग साझेदारीका कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरका सबै वडाको माटो परीक्षण गरी कृषि चुन, कृषिजन्य विभिन्न औजार, बिउबिजन कृषक समूहलाई वितरण गर्ने गरिएको छ । प्रांगारिक कृषि उत्पादनमा जोड दिएर कृषि उत्पादनको बजारीकरण हुन थालेपछि किसानले आम्दानी लिन थालेको स्थानीय गोपाल खरेलको भनाइ छ ।

बजारमा बिक्री हुन नसकेका उत्पादनलाई उचित मूल्य निर्धारण गरेर नगरपालिकाले नै खरिद गर्ने कार्ययोजना लागू गरेको छ । ६० टनसम्म अटाउने शीतघर सञ्चालनमा ल्याउने तयारी छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा विद्युतीय स्प्रे ट्यांकी वितरण गरेको छ । नगरपालिकाले वडा स्तरमै कृषि समिति र उपसमिति गठन गरेर कृषकको समस्या समाधान गर्दै आएको नगरपालिकाको कृषि विकास शाखाका कृषि विकास अधिकृत यदुकुमार उप्रेतीले जानकारी दिए ।

नगरका विभिन्न वडामा रहेको कृषि समूहमार्फत तरकारीका बेर्ना विक्रि वितरण गर्ने गरेको छ । तरकारीका बेर्नामा ५० प्रतिशत अनुदान नगरले दिने गरेको छ । यस्तै नगरले धानको बिउ उत्पादनमा पनि किसानलाई प्रोत्साहन गर्ने गरेको छ जसले गर्दा व्यावसायिक र सामूहिक खेती गर्ने किसान लाभान्वित हुँदै गएको नगरपालिकामा रहेको बेनुबाजा कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल भेटवाल बताउँछन् ।

स्वदेशमै आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले कृषिमा लगानी र योजना बनाउँदा अहिले सफलता हात लागेको कनकाई नगरपालिका प्रमुख  राजेन्द्रकुमार पोखरेलको दाबी छ । कोरोना महामारीका बेलामा पनि कनकाइले कृषकका लागि मल बिउ उपलब्ध गराएको थियो । कृषकमैत्री सोच राख्ने जनप्रतिनिधिकै कारण कनकाईले कृषिमा सफलता हासिल गर्दै गएको छ ।

पालिका प्रेस
थप जानकारी