नेपाल कृषिप्रधान मुलुक भए पनि बर्सेनि अर्बाैं रुपैयाँको खाद्यान्न, फलफूल, माछामासु र तरकारी आयात भइरहेको छ । तीनै तहका सरकारले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेपनि कृषिक्षेत्र अझै पनि व्यावसायिक हुन् सकिरहेको छैन । संखुवासभाको चैनपुर नगरपालिकाले पाँच वर्षमा कृषिमा बजेट बढाएर कृषकलाई अनुदान दिँदा नगर अहिले कृषि र पशुपालनबाट समृद्ध बन्ने लयमा पुगेको छ ।

भौगोलिक हिसाबले चैनपुर नगरपालिकामा विविध हावापानी पाइन्छ । माटो सुहाउँदो खेती गर्न नगरपालिकाले कृषिमा कुल बजेटको २७ प्रतिशतसम्म लगानी गर्दै आएको छ । कृषिलाई उत्थान गर्न पकेट क्षेत्र घोषणा कार्यक्रम ल्याइएको छ । सोही कार्यक्रमअन्तर्गत नगरपालिकाले वडा नम्बर ४ लाई अलैँची पकेट क्षेत्र, वडा नम्बर ५ लाई सुन्तला पकेट क्षेत्र, वडा नम्बर ८ लाई उखु पकेट क्षेत्र घोषणा गरेको छ ।

नगरलाई फलफूल र दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । यसका लागि नगरपालिकाले कृषकलाई नगद तथा बिउबिजन उपलब्ध गराएर प्रोत्साहन गर्दै आएको नपरप्रमुख भरतकुमार खत्रीले जानकारी दिए । कृषकले उत्पादन गरेको उपजलाई सहज ढंगले संकलन गर्न र बिक्री वितरण गरेर कृषकलाई सहयोग पु¥याउने काम नगरपालिकाले गरेको पाइन्छ । सोहीअनुसार नगरपालिकाले कृषि उत्थानका विभिन्न योजना अघि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाल बताउँछन् ।

कृषककै लागि भनेर नगरपालिकाले अनुदानको व्यवस्था गरेको छ । कृषि र पशुपालन क्षेत्रमा नगरले गरेको महत्वपूर्ण काम भनेको उन्नत जातका बिउबिजन वितरण तथा कृषकलाई तालिम दिनु हो । नगर कृषिमा यन्त्रीकरण गर्न सफल भएको नगरपालिकाको कृषि विकास शाखा प्रमुख टंकराज कटुवालको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी