पर्यटकीय क्षेत्र मकवानपुरको थाहानगर स्थित दामन सिमभन्ज्याङमा आजभोलि जो कोहीलाई पनि गुराँसले मोहित पार्दछ । प्रसिद्ध पर्यटकीय क्षेत्रमा गुराँसमा रमाउने र फोटो खिच्नेहरु अहिले दामन सिमभन्ज्याङ पुग्छन् । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगसंगै प्राकृतिक छँटाले भरिपूर्ण यि र यस्ता ठाउँमा आन्तरिक तथा बाह्यि पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

अहिले दामन सिमभन्ज्याङ क्षेत्रमा रंगीविरङ्गी गुराँस फुल्न थालेका छन् ।गुराँसको बखान त गरेर साध्य छैन । गुराँससँग हाम्रो आत्मियता पनि जोडिएको छ । नेपालको राष्ट्रिय फूल कुन हो भन्दा ‘लाली गुराँस’ भन्दै हुर्किएका हामीलाई गुराँस नौलो रहेन । हामीले गुराँसको गीत गाएका छौ । गुराँसको सर्वत पिएका छौ । गुरासको सौन्दर्यमा उमंगित भएका छौ । गुराँसको उत्सव गरेका छौ । बनैभरी फुलिदिने गुराँसले चैत्र९वैशाखमा बनपाखालाई ढकमक्क बनाइदिन्छ । कसैले नरोपे पनि, कसैले नहुर्काए पनि, कसैले मलजल नगरे पनि, कसैले स्यहार नगरेपनि गुराँसले बनजंगललाई शोभायमान बनाइदिन्छ ।

गुराँसको प्रजाति

हामीले लाली गुराँस त सुन्दै आयौ । तर, गुराँस थरीथरीका हुन्छन् । अनेक रंगमा फूल्ने यी गुराँस नेपालमा मात्र ३३ प्रजातिका छन् भनेर अभिलेख गरिएको छ । यसअघि ३० प्रजातिका मात्र पाइन्छन् भन्ने तथ्य बाहिरिएको थियो ।

१ हजार पाँच सयदेखि पाँच सय मिटर उचाईमा फैलिएको यो जंगलमा गुराँस नै गुराँसले ढकमक्क हुन्छ ।

गुराँसको उद्गम थलो

खासगरी गुराँस पूर्वी हिमालय र मलाय द्वीप समूहमा अत्याधिक फेला पार्न सकिन्छ । चीनको युनान प्रान्तको उत्तरपश्चिम सीमा अर्थात हिमालयको पूर्वी छेउमा रहेको हेङदुवाङ पर्वत शृंखला गुराँसका प्रजातिहरुको प्रचुरता रहेको क्षेत्र भनि उल्लेख छ । गुराँस हेङदुवाङ पर्वत शृंखलातिरै उत्पत्ति भएको मानिन्छ । यद्यपी पछिल्लो खोजले गुराँसको पात अमेरिकाको अलास्कामा फेला पारेको तथ्य सार्वजनिक गरेको छ ।

लालीगुराँस, गुराँस, रातो तथा सेतो चिमाल, सुनपाती, भाले सुनपाती जस्ता अनेकथरी गुराँस पाइन्छन् ।

गुराँस उत्सव

जब बनजंगलमा ढकमक्क गुराँस फूल्छ, बनजंगलले नै उत्सव मनाइरहेको भान हुन्छ । भीर पाखा ढाक्नेगरी फूलेका गुराँसले सौन्दर्य पारखीको मन त लोभ्याउन नै भयो । गुराँसको यही सौन्दर्यबाट मोहित भएर मुलुकको विभिन्न ठाउँमा उत्सव नै आयोजना गरिन्छ, गुराँस उत्सव ।

बागलुङको पर्यटकिय घुम्टे लेकमा गुराँस उत्सव हुँदै आएको छ । गुराँस फूल्ने मूख्य सिजनमा त्यहाँ यस्तो उत्सव आयोजना गरिन्छ । उता रोल्पामा ‘रोल्पा गुराँस साहित्य मेला’ आयोजना भइरहेको छ । यस्ता उत्सव अन्य भेगमा पनि हुने गरेको छ ।

गुराँसः सौन्दर्यदेखि औषधीसम्म

गुराँस आफैमा सौन्दर्य हो । गुराँसका फूलहरुले जो कोहीलाई लोभ्याउँछ । गुराँसको औषधीय मूल्य पनि छ । रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ ।

गाउँघरतिर अझैपनि गुराँस राख्ने र औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । गुराँसको सर्वत गर्मी याममा पिइने स्वस्थ्यकर पेयमा पर्छ । स्वादिलो पनि । घाँटी दुखेको बेला वा घाँटीका केही अड्किएमा गुराँस खान दिइन्छ । कलेजो तथा मिर्गौलाको समस्या भएमा पनि गुराँस सेवन उपयोगी मानिन्छ । हृदयरोगमा गुराँसको जुस सेवन गर्दा फाइदा मिल्छ ।

मकवानपुरको दामन सिमभन्ज्याङ पुगेर पालिका प्रेस सहकर्मी फोटोग्राफर गणेश विष्टले वनवन चहारेर गुराँसको फोटो खिचेका छन् । उनै विष्टले खिचेको फोटो फिचर हेर्नुहोस् ।

अनि, एकपल्ट गुराँससंग रमाउन जाने हैन त दामन सिमभन्ज्याङ ?

 

गणेश विष्ट
थप जानकारी