सिन्धुली जिल्लाका सातवटा स्थानीय तहले गाउँ तथा नगर प्रहरी राखेका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै स्थानीय तहले गाउँ तथा नगर प्रहरी भर्ना गरी सेवा दिन थालेका हुन् ।

जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिकाले नगर प्रहरी भर्ना गरेका छन् । सुनकोसी गाउँपालिका र घ्याङ्लेख गाउँपालिकाले भने आवश्यक नरहेको भन्दै अहिलेसम्म नगर प्रहरी भर्ना गरेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (क) मा व्यवस्था भएबमोजिम नगर प्रहरी भर्ना गरी सेवा प्रवाह गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘नगर प्रहरीले कार्यालयको काममा सहजीकरण गर्नुका साथै सार्वजनिक सम्पत्तीको सुरक्षा र संरक्षण, विपत् व्यवस्थापन, विपत्को समयमा खोजी, उद्धार, राहत तथा पुनस्र्थापनालगायतका काममा जुटेका छन् ।’

अनधिकृत रूपमा हुने निर्माण एवं सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम र नियन्त्रण गर्न प्रतिस्पर्धाको आधारमा करार सेवामा तीन जना गाउँ प्रहरी भर्ना गरी सेवा प्रवाह गरिएको उनले बताए । गाउँ तथा नगर प्रहरी हालसम्म सहायक प्रहरी निरीक्षकको नेतृत्वमा कमलामाई नगरपालिकामा १२ जना, दुधौली नगरपालिकामा १६ जना, हरिहरपुरगढी गाउँपालिकामा चार जना, मरिण गाउँपालिकामा छ जना, फिक्कल गाउँपालिकामा पाँच जना, तीनपाटन गाउँपालिकामा दुई जना, गोलन्जोर गाउँपालिकामा तीन जना रहेको ती पालिकाले जनाएका छन् ।

गाउँ प्रहरी राखेपछि पालिकाको काममा सहयोग पुगेको फिक्कल गाउँपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, पालिकाले हबल्दारको कमान्डमा तीन जना पुरुष र दुई जना महिला गाउँ प्रहरी भर्ना गरी सेवा दिएको छ । गाउँ सभाबाट दरबन्दी सिर्जना गरी गाउँ प्रहरी भर्ना गरिएको हो ।

कमलामाई नगरपालिकाका प्रशासकीय अधिकृत सागरकुमार ढकालले ४५ जना नगर प्रहरी भर्ना गर्ने नगरपालिकाको योजना रहेको जानकारी दिँदै भने, हाल १२ जना कार्यरत छन् । अरू छ जना भर्ना प्रक्रियामा रहेका छन् । उनीहरूले वातावरण संरक्षणदेखि कार्यालयको काममा समेत सहयोग पुर्‍याउने गरेको उनको भनाइ छ ।