रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ ओख्रेनाकी ९६ वर्षीया लाटी बुढाले एक वर्ष अगाडिसम्म नियमित रूपमा वडा कार्यालयबाट वृद्धभत्ता पाए पनि गत मंसिरपछि पाउन सकेकी छैनन् । ठूलो सिस्नेको ८० वर्षका धनी बुढाले पनि गत मंसिरपछिको वृद्धभत्ता पाएका छैनन् । सोही स्थानकी ७५ वर्षीया अशक्त जयकुमारी बुढाको पनि यस्तै गुनासो छ ।

यिनीहरू त केही उदाहरणीय पात्र मात्र हुनुहुन्छ । वडाका अन्य सबै ज्येष्ठ नागरिक, अपांगता, एकल महिलाले विगत एक वर्षयताको सामाजिक सुरक्षा भत्ता र बालबालिकाले बालपोषण भत्ता पनि पाएका छैनन् । स्थानीय सरकार स्थापनापछि घरबाटै सामाजिक सुरक्षाभत्ता पाइरहेका वडाबासीले अहिले यस्तो भत्ता नपाएको एक वर्ष पुगिसकेको छ । यो समस्या स्थानीय सरकारका कारणबाट नभई बैंकिङ प्रणालीलाई विकेन्द्रीकृत गर्न नसकेका कारण भएको हो ।

यहाँ अहिले ३९ ज्येष्ठ नागरिक, तीन दलित ज्येष्ठ नागरिक रहेको वडाध्यक्ष मानबहादुर बुढाले बताए । उनका अनुसार यहाँ ४१ एकल महिला, ७ ‘ख’ वर्गको अपांगता परिचय पाएका छन् भने ५ दलित बालबालिका र २२७ बालपोषण भत्ता पाउने बालबालिका छन् । यी सबैले गत मंसिरयताको भत्ता पाएका छैनन् । भट्टचौरकी ८० वर्षीया उजेली बुढाश्रेष्ठले भौगालिक कठिनाइका कारण सबै ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई बैंक भएको ठाउँसम्म पुग्न समस्या हुने गरेकाले अहिलेसम्म रुकुमकोट पुगेर सामाजिक सुरक्षा भत्ता लिन नसकेको बताइन् । अघिल्लो वर्षसम्म वडा कार्यालयबाटै भत्ता पाउने गरेकामा बैंकमै पुग्नुपर्ने अहिलेको बाध्यकारी अवस्थाप्रति उनको आक्रोश छ । ‘सरकारले दिएकै थियो तर अहिले सके बैंकबाट निकालेर खा नभए त्यत्तिकै बस भन्ने नीति लिएको छ’, वृद्धा बुढाश्रेष्ठले गुनासो गरिन्, ‘सरकारको यो बैंकिङ प्रणालीले हामीजस्ता विकट ठाउँका नागरिकलाई धेरै सास्ती भएको छ ।’ बैंकको पहुँचमा नभएकाका लागि वैकल्पिक व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाइ छ ।

सोही वडाका ७३ वर्षीय धनबहादुर बुढाकोे क्यान्सर रोगका कारण खुट्टा काटेर फालिएको छ । उनले भने, ‘रुकुमकोट जान सजिलो छैन । अपांग छु, सबलांग र तन्नेरी मान्छेलाई त १ देखि २ दिनको बाटो हिँड्नुपर्छ, म खुट्टा नभएको मान्छे कसरी रुकुमकोट पुगेर बैंकबाट भत्ता निकाल्न सकौँला !’ अहिलेसम्म सडक सञ्जालमा नजोडिएको यस ठाउँका नागरिकलाई रुकुमकोट पुगेर भत्ता बुझेको एक चौमासिको भत्ताभन्दा बढी आउदा जाँदा र त्यहाँ बस्दा खर्च हुने भएकाले यो झन्झट कसले उठाउछ भन्दै वडाबासी बैंकमा जम्मा भएको रकम सम्झँदै बसिरहेका धनबहादुरले बताए । उनले भने, ‘रुकुमकोट गएपछि फेरि सजिलै भत्ता कहाँ पाइन्छ र ? लाइनमा बस्यो अनि पालो आए पनि फेरि कहाँ के पुगेन भनेर त्यसै फर्काइदिन्छन् । कहिलेकाहीँ त नेटवर्कले काम गरेन भनेर पनि रित्तै हात बैंकले फर्काइदिन्छ । सिस्ने १ मा फोन पनि लाग्दैन । फोनले काम गर्ने भए पनि बैंकमा जाँदा चाहिने कागजपत्रबारे जानकारी लिन सहज हुन्थ्यो ।’

वडा नम्बर २ का नागरिकलाई पनि बैंकिङ सेवा पहुँच बाहिर छ तर वडा कार्यालयले गत आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता नागरिकको समस्यालाई दृष्टिगत गरी वडामै पुगेर वितरण गरेको थियो । वडा कार्यालयले नेपाल बैंसँगको समन्वयमा वडामै पुगेर भत्ता वितरण गरेको हो । उक्त वडा रुकुमकोटबाट अलिक नजिक पर्ने भएकाले त्यहाँ बैंकका कर्मचारीको उपस्थितिमा भत्ता वितरण गरिए पनि वडा नम्बर १ टाढा भएकाले र त्यहाँ सुरक्षाको कारण जनाउँदै आग्रह गर्दा पनि बैंकका कर्मचारी जान नमानेको वडाध्यक्ष बुढाले बताए ।

अहिलेसम्म यातायात, सञ्चार र विद्युत् सेवाको पहुँच नपुगेको यस वडाका नागरिकको समस्यालाई बुझेर केही गर्ने प्रयास गरे पनि सम्भव नदेखिएको उनले सुनाए । गउँपालिकाले १ र २ का नागरिकलाई दोहोरो दुःख नहोस् भनेर वडामै पुगेर केवाइसी फारम भने भराएकोे थियो । गाउँपालिकाभित्रका अन्य ३ देखि ८ नम्बरसम्मका वडाले भने बैंकबाटै सामाजिक सुरक्षा भत्ता लिइरहेकोे गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । भूमे गाउँपालिकाको सबै वडामा बैंकिङ प्रणाली लागू भइसकेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिहं श्रेष्ठले जानकारी दिए । गत आर्थिक वर्षसम्म गाउँपालिकाको ८ र ९ नम्बर का वडाबासीलाई घरटोलमै पुगेर उक्त भत्ता वितरण गरिए पनि चालू आर्थिक वर्षदेखि सबै वडालाई बैंकबाटै भत्ता वितरण गर्न थालिएको उनको भनाइ छ ।

‘सबै कुरा बैकिङ प्रणालीमार्फत सिस्टममा चल्नु राम्रो हो’, अधिकृत श्रेष्ठले भने, ‘तर यहाँ उपलब्ध सुविधा र भौगोलिक अवस्थालार्ई ध्यानमा नराखी बन्द कोठामा निर्माण गरिएको नीतिले दुर्गम क्षेत्रका नागरिकलाई सास्ती भइरहेको छ ।’ अहिले कसैले सामाजिक सुरक्षाभत्ता पाउनु र नपाउनुमा यहाँका स्थानीय सरकार र स्वयं नागरिकको कुनै दोष नभई यो एउटा नीतिले गर्दा उत्पन्न अप्ठेरोको रूपमा आफूले लिएकोे उनले बताए ।

पुथाउत्तरगंगा गाउँपालिकाले भने अहिलेसम्म बैंकिङ प्रणाली लागू गरेको छैन । १४ वटा वडा रहेको उक्त पालिकाले वडा नम्बर १०, ११, १२, १३ र १४, माथिल्लो बेल्टको १ र ३ गरी ७ वटा वडामा दोस्रो त्रैमासिकबाट बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना बनाएको लेखाप्रमुख नवराज खड्काले जानकारी दिए । त्यसका लागि ती वडाका भत्ता पाउने नागरिकलाई बैंकमा गएर खाता खोल्न भनिएकामा अहिलेसम्म ८० प्रतिशतले खाता खोलिसकेको र २० प्रतिशतले अझै नखोलेको उनले बताए ।

‘गाउँपालिकाको लक्ष्य दोस्रो त्रैमासिकमा ७ वटै वडामा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरिने भए पनि केही ढिला हुने देखिएको छ’, लेखा प्रमुख खड्काले भने, ‘अहिले भएन भने तेस्रो त्रैमासिकमा जसरी पनि ती वडामा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्छौं ।’ अन्य वडामा बैंकिङ प्रणालीमार्फत भत्ता वितरणको काम कठिन भएको उनको भनाइ थियो । पुथाउत्तरगंगा जिल्लाको सबैभन्दा विकट क्षेत्र हो । त्यहाँबाट कतिपयलाई वडा कार्यालयसम्म पुग्न एक दिनको बाटो हिँड्नुपर्छ भने बैंक भएको ठाउँसम्म पुग्न त दुई दिनको बाटो हिँड्नुपर्छ । अपांगता तथा ज्येष्ठ नागरिकलाई योभन्दा बढी समय लाग्ने गरेको छ । स्थानीय तहले बैंकमार्फत भत्ता वितरण गर्न थालेपछि जिल्लाका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ । भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले बैंकिङ प्रणाली अपनाएकाले खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्न परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ ।

रुकुम पूर्व ३ वटा मात्र गाउँपालिका रहेको जिल्ला हो । यहाँका सबै स्थानीय तहमा बैंक स्थापना भएका छन् । सबै गाउँपालिकामा बैंक स्थापना भए पनि सबै बस्तीका नागरिक बैकिङ सेवाको पहुँचमा जोडिन सकेका छैनन् । सिस्नेमा नेपाल बैंक र प्रभु बैंकबाट भत्ता वितरण भइरहेको छ । भूमेमा सिटिजन बैंकर पुथाउत्तरगंगामा सिद्धार्थ बैंकबाट भत्ता वितरण भइरहेको छ ।