निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् ।

स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको उनले बताए ।छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको उनको भनाइ छ । निर्वाचन आयोगले काभ्रेपलान्चोकको धुलिखेलमा आजदेखि सुरु भएको दुई दिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा उनले निर्वाचन आउनै लाग्दा महिला पत्रकारलाई राखेर विभिन्न विषयमा छलफल गर्न लागिएको बताए ।

त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको उल्लेख गर्दै त्यसका लागि निर्वाचनलाई स्वच्छ,, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा कार्य गर्न आयोगलाई सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।