जनतामा समर्पित भई गरेको कामको उपलब्धीको आधारमा बधाई दिन थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्ट ‘आदर्श’ले सुझाएका छन् । पालुङ जेसीजले मकवानपुरको थाहानगरमा २१ जेठमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नगर प्रमुख विष्टले भने–‘जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना अहिले होइन पाँचवर्ष जनताको काम कति गर्यो भनेर मुल्यांकन गरी अवधी सकिएपछि गर्नूस ।’

नगर प्रमुख विष्टले नगरको नीति तथा कार्यक्रम समग्र जनताको भावनालाई समेटेर आउने बताए । यसका लागि सरोकारवालाहरुसंग छलफल गरेरै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । विकास महशुस हुनका लागि नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउँदै विष्टले अबको विकास जनताको अवस्था बदलिने गरी हुने बताए । अबको पाँच वर्षको कार्यकाल सुशासन, विकास र जनताको अवस्था बदल्नकै लागि हुने बताउदै उनले खबरदारी र सुझावको निरन्तर अपेक्षा गरे । ३० वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा बिजयी भएका थाहा नगरपालिकाका जनप्रतिनिधिहरुलाई पालुङ जेसिजले शुभकामनासहित बधाई दिएको छ ।

पालुङ जेसिज हलमा सम्पन्न कार्यक्रममा पालुङ जेसिज बर्ष २०२२ का अध्यक्ष जयराम केसीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा थाहानगरका निवर्तमान प्रमुख लवशेर विष्ट निवर्तमान उपप्रमुख खड्गबहादुर गोपाली, नवनिर्वाचित नगर उपप्रमुख भरत गोपाली, १२ वटै वडाका नवनिर्वाचित वडा अध्यक्षहरु तथा पालुङ जेसिजका पुर्व अध्यक्षहरु तथा जेसिज सदस्यहरुको उपस्तिथि रहेको थियो। पालुङ जेसीज २०२२ का महासचिव निरज रायमाझीले कार्यक्रम संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी