विद्यालय जाने उमेरमा विद्यालय छाडेका थाहा नगरपालिकाका २४ जना किशोरीहरुले एक हप्ते क्रिस्टलको गहना बनाउने तालिम लिएका छन् । थाहा नगरपालिका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचय पत्र वितरण शाखाले नगरको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत् विद्यालय छाडेका किशोरीहरुलाई तालिम दिएको हो ।

किशोरीहरुलाई नेपालमै ख्यातीप्राप्त कमला सुवेदीले तालिम दिएकी थिइन् । गत १६ जेठबाट शुरु भएको तालिमको आज २२ जेठमा समापन समारोहमा बोल्दै किशोरीहरुले तालिमको सदुपयोग गर्दै आगामी दिनमा आफूहरु व्यवसायिक बन्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा किशोरीहरुले तालिमको क्रममा निर्माण गरेका गहनाहरु प्रदर्शन गर्नुका साथै अतिथिहरुलाई कोशेलीस्वरुप प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्दै मेनुका दुरेलीले नगरपालिकाको सोच र प्रशिक्षकले सिकाएको कुरालाई व्यवहारमा उतारेर आगामी दिनमा यसबाटै व्यवसायिक यात्रामा अघि बढ्ने प्रतिवद्धता जनाइन् । उनले काम गर्दै जाँदा आगामी दिनमा एड्भान्स कोर्शको आवश्यकता पर्ने बताइन् ।  सहभागीहरुलाई थप सजिलोका लागि नगरपालिकाले जनही तीन हजारको दरले क्रिष्टलको गहना बनाउने सहयोगी सामग्रीहरु पनि वितरण गरेको छ ।

उनीहरुले क्रिष्टलकोे गहना बनाएमा बजारको दुःख नहुने र नगरपालिका स्वयम्ले उनीहरुले निर्माण गरेका हस्तकलाका सामग्री किनिदिने कार्यक्रम रहेको नगरपालिकाले जनाएको  छ । यसको लागि दामन नयाँगाउँस्थित कोशेली घर छिट्टै व्यवस्थित ढंगले सञ्चालनमा ल्याइने नगरपालिकाको योजना छ ।

थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्य तथा कार्यपालिका सदस्य पवित्रा ठकुरीको अध्यक्षतामा समापन कार्यक्रम भएको हो । थाहा नगरपालिका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचय पत्र वितरण शाखाका प्रमुख प्रतिमा मोक्तानले सञ्चालन गरेका समापन कार्यक्रममा प्रशिक्षक कमला सुवेदी, महिला उद्यमी कल्पना बलामी, थाहानगरका रोजगार संयोजक कुमार नेगी, अपाङ्ग सरोकार केन्द्रका ठाकुराम थापा, निवर्तमान कार्यपालिका सदस्य जानुका ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पालिका प्रेस
थप जानकारी