आँगनको डिलमै दुईजना वृद्धवृद्धा बसिरहेको दृश्य । लाग्छ, कसैको बाटो हेर्दै पीडी कुरिरहेका छन् । तर त्यसो होइन, उनीहरु त आफ्नो सीपमा प्रस्तुत भैरहेका थिए । मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ इन्द्रायणी वस्ती (देउला गाउँ) का यि दम्पती निकै मिहिनत गर्छन् । पुरानो पेशा जोगाउन मात्र तल्लिन छैनन् उनीहरु कमाई पनि गरिरहेका छन् । इन्द्रायणी वस्तीका पूर्ण सिं देउला र उनकी श्रीमती मंगल मायाँ फुर्सन हुने वित्तिकै निगालोको ढक्की, कँडाली, बल (निगार छान्ने) बुन्न थाली हाल्छन् ।

पहिले–पहिले पालुङको इन्द्रायणी वस्तीमा घरैपिच्छे यो काम पेशाकै रुपमा गरिन्थ्यो । पुर्ण सिंले –‘मैले नि आमाबाट सिकेको हुँ, अहिले बुढ्यौलीका बेला काम लाग्यो ।’ वि.सं. २०४५ सालमा आमा बित्नु भो, सीप ताजै छ–पूर्ण सिं ले थपे । मंगल मायाँँ पनि आफ्नी सासुबाटै सिप सिकेको बताउँछिन् । ‘११ वर्षकै उमेरमा मलाई ह्वाँले चोरेर ल्याउनु भो, माइतीमा त जान्ने कुरै भएन’– मंगल मायाँले भनिन् । ढक्की बुन्न निगालोको चोया बनाउनु पर्छ । निगालो चिरेर बनाइने साना रेसालाई चोया भनिन्छ । ढक्की/कँडालीलाई आकर्षक बनाउनका चोयामा रंङ दलेर सुकाउनु पर्छ । मंगल मायाँले आफ्नो सीपको बखान गर्दै भनिन्–‘रंग मिलाई–मिलाई चोया फेर्दै बुन्दा ढक्की/कँडाली चिटिक्क हुन्छ ।’

निगालाका सामाग्री बुन्दा मंगल मायाँ पिँध बनाउँछिन् । उनका श्रीमान् पूर्ण सिं पिध लाउने सीपमा कमजोर छन् । उनी भन्छन्–‘बुढि पिँध लाउन सिपालु छिन्, म बिट उठाउँछु ।’ चोया तयारी अवस्थामा भए यि दम्पत्तीले एकै दिन ५ वटासम्म ढक्की÷कँडाली बुन्न भ्याउँछन् । कतिपय घरैबाट बिक्री हुन्छन् । बाँकी भएका सामाग्री काठमाण्डौ लगेर बेचेर आउँछन् । ‘काठमाण्डौंको भिउसिन थानमा एउटा पसल छ त्यहाँ लगेर दिन्छौं पसलेले हाताहाती पैसा दिन्छ, बेच्ने ठाउँको चिन्तै छैन’–पूर्ण सिंले भने । उनीहरु साइज अनुसार एउटा ढक्की ५ सयदेखि माथिको मूल्यमा बेच्छन् । निगालो किन्न प¥यो भने एउटाको २ रुपियाँ पर्ने पुर्ण सिं ले बताए । इन्द्रायणी बस्तीका युवाहरु यो सीप सिक्न भने मनै नगर्ने उनीहरु बताउँछन् । सीप सिक्दा घरैमा बसेर आम्दानी गर्न सकिने उनीहरुको अनुभव छ ।

पुर्ण सिं ८० वर्ष भए । उनी र उनकी श्रीमती मंगलाको काम ढक्की बुन्ने मात्र भने हैन । उनीहरु अझै खेत बारीको काम गर्छन् । रिपोर्टिङमा पुगेका संचारकर्मीहरुलाई आँगनको डिलबाटै पूर्ण सिं ले देखाउँदै भने–‘अघि भर्खर ऊ त्यहाँ बन्दाको झार ओखेलेर आको, अहिले थालेको काम किन अचकल्तो राख्नू भनेर ढक्की बुन्न थाल्यौं ।’ खेतबारीको काम भ्याएपछि उनीहरु निगालाको सामान बनाउने काम गर्छन् । ‘अहिले त फुर्सद भएर मात्र हो नत्र यो काम झरी पर्दा घरभित्र बसेर गर्छौ’–मंगल मायाँले भनिन् । उनी थप्छिन्–‘चोया ठीक्क पारेर राख्यो, फुर्सदमा गरेको कामले नि कुटुकुटु आम्दानी भैरहन्छ, नगरपालिकाले दिने वृद्ध भत्ताले घरको नून मसाला टर्छ ।’

पूर्ण सिं दम्पत्तीले खेत र बारी गरेर २० रोपनी क्षेत्रफलमा तरकारी खेती गरेका छन् । ११ रोपनी खेत र ९ रोपनी बारीमा खेतीपाती गर्दै आएको पुर्ण सिं ले सुुनाए । खेतीपातीमा पनि उनीहरु निकै मिहिनत गर्छन् । उनीहरुको ३ भाई छोरा छन् । तीनमध्ये माइलो छोराको मृत्यू भैसकेको उनीहरुले दुखद् खबर सुनाए । ‘एक भाइ अझै मेल्टरी (नेपाली सेना) मा छ, अर्को व्यापार गर्छ’–पूर्ण सिं ले भने ।

मकवानपुर थाहानगरको पालुङ, बज्रवाराही तथा चित्लाङमा देउलाहरुको बसोबास रहेका छ ।

पालिका प्रेसका फोटो पत्रकार गणेश विष्टले खिचेका फोटोहरुः

 

 

गणेश विष्ट
थप जानकारी