‘स्थानीय तहको निर्वाचन २०७९ मा महिला सहभागिता सम्बन्धी फोटो प्रतियोगिता’ को नतिजा सार्वजनिक भएको छ । ‘सन्धान मोबाइल फोटो प्रतियोगिता’ मा आशिष गुप्ताले दाङमा सखचेको फोटो प्रथम भएको छ । प्रतियोगितामा उनले दाङको तुलसीपुर नगरपालिका वडा नम्बर ५ की २६ वर्षिया सुनिता विकको फोटो पठाएर प्रतियोगितामा सहभागी भएका थिए । फोटोमा विकलाई श्रीमान्को किरियामा बसेको बेला मतदान गर्न खाली गोडा मतदान केन्द्रमा पुगेकी देखिन्छन् ।

प्रतियोगितामा मकवानपुरका सुरजकुमार भुजेल दोस्रो भएका छन् । भुजेलले मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ की ८३ वर्षिया दिलमाया चेपाङले मतदान गर्दै गरेको देखिन्छ । यसैगरी, स्मृति वाई सीले खिचेको फोटो तृतीय भएको छ । उनको फोटोमा ह्विलचेयरमा गएर पहिलो पटक मतदान गरेकी मीना चौधरी छिन् । चौधरी दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ को बालापुर मतदान केन्द्रमा आफन्तको सहयोगमा मतदान गर्न गएकी थिइन् ।

प्रतियोगिताको ‘पिपुल च्वाइस’ विधामा पनि स्मृति वाई सीले खिचेको मीना चौधरीकै फोटो पुरस्कृत भएको छ । उत्कृष्ट फोटोहरुलाई सन्धानले नगद पुरस्कारको व्यवसथा गरेको छ ।‘स्थानीय तह निर्वाचन २०७९ मा महिला सहभागितासम्बन्धी फोटो प्रतियोगिता’ को नतिजा ‘सन्धान’ले ३१ जेठमा सार्वजनिक गरेको हो । स्थानीय तहको दोस्रो निर्वाचनमा भएको महिला सहभागितासम्बन्धी फोटाहरूलाई अभिलेख गर्ने उद्देश्यले ‘सन्धान’ ले प्रतियोगिताको आयोजना गरेको हो । निर्णायक मण्डलमा फोटो पत्रकारहरू श्रुति श्रेष्ठ, कविता थापा र वर्षा शाह थिए । प्रतियोगिताका लागि कुल ५३ वटा फोटो प्रतिस्पर्धामा थिए । तीमध्ये पहिलो चरणमा ३२ वटा फोटाहरू छनोटमा परेका थिए । छनौटमा परेकामध्येबाट १७ वटा फोटालाई निर्णायकमण्डलले ‘पिपुल च्वाइस’ विधाका लागि प्रतिस्पर्धामा पठाएको थियो । ती फोटालाई ‘सन्धान’ को फेसबुक पेजमा जेठ २० गतेदेखि जेठ २७ गतेसम्म राखिएको थियो ।

फेसबुक पेजमा राखिएका फोटाहरूमा एक सेयर भएकोलाई दुई दशमलब पाँच, एक लाइकको लागि दुई र कमेन्टका लागि एक अंकभार राखिएको थियो । सबैभन्दा बढी अंक पाउनेलाई ‘पिपुल च्वाइस’ विधातर्फ पुरस्कृत गरिएको हो । प्रतियोगिताका लागि तस्बिर पठाउने मिति वैशाख २५ गतेदेखि जेठ ७ गतेसम्म राखिएको थियो ।