महोत्तरीमा सामाजिक सुरक्षाभत्ता रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्ति बैंकको लापरवाहीका कारण सास्ती भोग्न बाध्य छन् । १० नगरपालिका र ५ गाउँपालिका रहेको जिल्लामा एकल महिला भत्ता, बालबालिकालाई पोषणभत्ता, अपांगता भएकालाई अपांगता भत्ता र ज्येष्ठ नागरिक वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता बैंकमार्फत दिन थालिएको छ ।

भत्ता बुझ्न सास्ती भएको जलेश्वर नगरपालिका वडा नम्बर ८ का वृद्ध बहादुर महराले बताए । बैंकले सेवाग्राहीलाई दिनदिनै बोलाउने गरे पनि एक दिनमा सबै काम नगर्दा सदरमुकाम आउजाउ गर्न सकस भएको जलेश्वर नगरपालिका वडा नम्बर ३ की शिलादेवीको गुनासो छ । जलेश्वरस्थित प्रभु बैंकमा तीन दिन धाउँदा पनि भत्ता पाउन नसकेको उनले बताइन् ।

बैंकले एक दिनमा २०÷२५ जनालाई मात्रै भत्ता बाँड्ने गरेको छ । भत्ता लिन लक्ष्मी बैंक पुगेकी जलेश्वर नगरपालिका वडा नम्बर ११ का विलक्षण खत्वेले चार दिनदेखि धाउँदै आए पनि पाउन नसकेको गुनासो गरे । घन्टौँ लाइनमा बसे पनि काम नहुँदा रित्तै फर्किनुपरेको उनले सुनाए ।स्थानीय तहले सामाजिक सुरक्षा रकममा अनियमितता नहोस् भनेर बैंकिङ प्रणाली अपनाएका छन् । जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरिया जिम्मेवारी लिएका बैंकले व्यवस्थापनमा ध्यान नदिँदा लाभग्राहीले सहज सेवा पाउन नसकेको बताए ।